Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ ठकुरीलाई


गण्डकी। कास्कीस्थित सरुभक्त केन्द्रद्वारा स्थापित ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ ।

कम उमेरमा नै गीतसङ्गीतको क्षेत्रमा सफलता पाएका उनलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । त्यस्तै, बाजुराको हिमाली गाउँपालिका–६ मा जन्मी हाल काठमाडौंको महर्षी स्कुलमा कक्षा छ मा अध्ययनरत ठकुरीलाई यही माघ २७ गते पोखरामा एक समारोहका बीच पुरस्कृत गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त पुरस्कृत हुन लागेका बालकलाकार ठकुरीका लोकगीत, लोकदोहोरी, चलचित्र गीत, आधुनिक गीतलगायत गरी हालसम्म एक सय ९० वटा गीत रेकर्ड भएर सार्वजनिक भइसकेका छन् । उनी ‘भ्वाइस अफ् किड्स’ कार्यक्रमको पहिलो संस्करणमा फस्ट रनर अप भएका केन्द्रका अध्यक्ष श्रेष्ठले बताएका छन् ।

त्यस्तै, बाह्र वर्षीय ठकुरी यसअघि ‘रारा राष्ट्रिय म्युजिक अवार्ड’, ‘उत्कृष्ट बालप्रतिभा अवार्ड’, ‘क्विन्स बाल स्वरसम्राट अवार्ड’लगायत अवार्ड तथा पुरस्कारबाट सम्मानित भइसकेका छन् । उक्त केन्द्रले साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कारलगायत क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्षमुनिका बालबालिकालाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरेको पुरस्कार छनोट समितिका संयोजक सरस्वती प्रतिक्षाले बताएकी छन् ।

उक्त पुरस्कारबाट विसं २०५७ मा पर्वतारोहण क्षेत्रतर्फ तेम्वाछिरी शेर्पा, विसं २०५८ मा नृत्यमा ज्योति थापा, विसं २०६० मा गायनतर्फ ऋतु लामा, कलामा विसं २०६१ म शिखा कटुवाल, विसं २०६२ मा कला क्षेत्रमा करुणा गुरुङ, विसं २०६४ मा खेलकुदतर्फ सिपोरा गुरुङ, विसं २०६५ मा विज्ञान तथा प्रविधितर्फ कुशल केसी र विसं २०६९ मा पर्वतारोहणमा निमा छ्याङ्दी शेर्पालाई प्रदान गरिएको थियो ।

विसं २०६९ देखि स्थगन भएको ‘राष्ट्रिय बालप्रतिभा पुरस्कार’लाई यस वर्षदेखि ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’का नाममा वितरण गर्न लागिएको केन्द्रले जनाएको छ भने साहित्यकार एवं सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर र आमा लक्ष्मीमायाको स्मृतिमा रु ११ लाख ५० हजारको अक्षयकोष स्थापना गरी केन्द्रमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

त्यस्तै, पुरस्कार कोष सञ्चालन, प्रतिभा पहिचान, पुरस्कार वितरणलगायतका काम केन्द्रमार्फत सञ्चालन हुँदै आएको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए । उनले यसअघि रहेको ‘साहित्यकार सरुभक्त सरोकार केन्द्र’लाई गत वर्ष ‘सरुभक्त केन्द्र’का रुपमा नाम परिमार्जनसहित विधिवत् दर्ता गरी संस्था घोषणा गरिएको उल्लेख गरेका छन् ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?