Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विद्युत् विस्तार


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विद्युतीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो ।

त्यस्तै, दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विद्युतीय सेवा विस्तारलाई तीव्रता दिइएको छ। यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविद्युत् आयोजनाद्वारा बिजुली बालिएको थियो भने हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन् ।

स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युत्को माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो । “लघु–जलविद्युत् मर्मतसम्भार हुन नसक्दा यिनले धान्न सकेनन्, स्थानीयस्तरमा साना उद्योग स्थापना तथा अन्य उपकरण सञ्चालनका लागि विद्युत्को माग बढ्दै गएपछि केन्द्रीय प्रसारण लाइन विस्तारमा जोड दिएका हौँ”, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने । उनका अनुसार केन्द्रीय प्रसार लाइन जोडिएपछि पहिले झैँ पटकपटक अन्धकारमा बस्नुपर्ने छैन ।

प्राधिकरणको बनेपास्थित वितरण केन्द्र प्रमुख इञ्जिनियर अमृत अधिकारीले जिल्लाको दक्षिणी क्षेत्र डाँडापारी क्षेत्रका महाभारत, खानीखोला गाउँपालिकामा हाल केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउन धमाधम काम भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब दुई हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् बलेको छ । वडा नं १ मा करिब तीन सय थान मिटर पठाउने तयारी भइरहेको बताउँदै अधिकारीले वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको बताएका छन् ।

उक्त केन्द्रका अनुसार डाँडापारीकै अर्को क्षेत्रमा पर्ने खानी खोला गाउँपालिकामासमेत केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउने काम थालिएको छ । त्यस्तै, खानीखोलाको ५ र ७ नं वडा का केही घरमा विद्युत् लाइन पुर्‍याइसकिएको केन्द्रका सूचना अधिकारी ई सुरोज पराजुलीले बताएका छन् ।

उनका अनुसार खानीखोलाका दुई वडाका करिब एक हजार घरमा उक्त विद्युत् पुगेको हो । उक्त गाउँपालिकाको अन्य बस्तीमा लाइन विस्तार गर्दै जाने योजना केन्द्रको छभने। खानीखोला५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले दुई सय ६७ मिटर गाउँमा आइपुगेको बताउँदै लाइन जोड्ने काममा केही ढिलाइ भएको बताए ।

त्यसैगरी, बुद्धिबहादुरका अनुसार ठेकेदार कम्पनीले बिग्रेको ट्रान्समिटर जोडेका कारण एक सयभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छैन । यस्तै वडा नं ५ मै आफ्नो घरमा केन्द्रीय प्रसारण विद्युत् जोडिदिन तीन सय २२ स्थानीयले मिटरका लागि निवेदन दिएको स्याङ्तानले जानकारी दिए । त्यसैगरी रोशी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको जनाइएको छ भने हालै वडा नं ११ भीमखोरीस्थित छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ, अमलाबासको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको हो । यसअघि छ सय १२ घरधुरीमा जडान भइसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले बताएका छन् ।

उनकाअनुसार उक्त वडामा करिब ७८ घरमा लाइन जडान गर्न बाँकी छ भने केही घरमा सामुदायिक विद्युतीकरण विद्युत् जडान गरिएको छ । त्यस्तै, स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्क विद्युत् मिटर वितरण गरेको थियो भने वडा नं ११ र १२ का करिब १५० सय घरमा उक्त प्रसारण लाइन पुर्‍याउन बाँकी रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताएका छन् ।

उनका अनुसार वडा नं १२ मा पनि सामुदायिक विद्युतीकरण गर्दा छुटेका करिब ५० घरमा केन्द्रीय प्रसारण लाइन विस्तारको योजना बनाइएको छ ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?