Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

एउटै गाउँबाट रु ११ करोडका सुन्तला बिक्री


पर्वत। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ ।

अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो । यस वर्ष सुन्तला खरिद गर्न काठमाडौंको कालीमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका व्यवसायी बाँसखर्कका सुन्तला बगानमा आइपुगेका छन् ।

त्यस्तै, कतिपय व्यवासयीले थोरै मात्रामा सुन्तला ढुवानी गर्न थालेका छन् भने कतिपय व्यवसायीले किसानसँग सम्झौता गरे पनि सुन्तला टिप्न आइनपुगेको सबैभन्दा बढी सुन्तला बिक्री गर्ने किसान जगतबहादुर खत्रीले बताए । बोटमा फल लामो समयसम्म राख्दा अर्को वर्ष कम उत्पादन हुने भएकाले माघभित्रै फल टिपेर लैजान व्यवसायीलाई किसानले आग्रह गरेका छन् ।

गत वर्ष रु १५ करोड भित्र्याएका यहाँका किसानले यस वर्ष भने उत्पादन घटेको बताएका छन् भने यस वर्ष रु १० देखि रु ११ करोड आम्दानी हुने अनुमान गरिएको अगुवा किसान खत्रीले बताएका छन् । गण्डकी प्रदेशकै स्वादिलो सुन्तला उत्पादन हुने वाँसखर्कमा ढिलोगरी सुन्तला पाक्ने भएकाले मूल्यसमेत महँगोमा बिक्री हुने गर्दछ भने यहाँका किसानले गत वर्ष बोटबाटै प्रतिकेजी रु एक सय ७० मा बिक्री गरेका थिए भने यस वर्ष रु एक सय ८० मा बिक्री गर्ने तयारी गरेका छन् ।

त्यस्तै, गत वर्ष सुन्तलाको फल लाग्ने बेला फागुन १५ गते परेको असिनापानीका कारण उत्पादन घटेको किसान खत्रीले बताए । खत्रीले गत वर्ष सुन्तला बिक्रीबाट रु ३२ लाख आम्दानी गर्नुभएको थियो । उनका तीन सय बोटमा सुन्तला फल्ने गर्दछन् । त्यसैगरी भक्तबहादुर पाइजाले रु २२ लाख र अर्का किसान हेमकुमार अर्मजाले रु २७ लाखको सुन्तला बिक्री गरेका थिए ।

व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका यहाँका दुई सयभन्दा बढी परिवारले सुन्तलालाई मुख्य पेसा बनाएका छन् भने स्थानीय बजारमारे सुन्तला उत्पादन सहकारी संस्थामा आबद्ध किसानले मकै, कोदोलगायतका बालीनाली लगाउन छाडेर सुन्तलाखेती विस्तार गरेका छन् ।

सहकारीका अध्यक्ष समेत रहेका किसान खत्रीले ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको सुनाए । बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन । किसानले धान, कोदो र मकैभन्दा सुन्तलाखेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन् ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत पाँच वर्षअघि रु ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ, तर बोटमै सन्तोषजनक मूल्य पाएपछि शीतभण्डारमा भण्डारण गर्न किसानले चासो देखाउँदैनन् । केही किसानले भेन ग्रेडिङ गरेर बाँकी रहेका सुन्तला शीतभण्डारमा राखेर बेसिजनमा बिक्री गर्ने गरेको स्थानीय कल्पना खत्रीले बताए ।

त्यस्तै, सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ भने यहाँका दुई सयभन्दा बढी परिवार सुन्तलाखेतीमा आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । त्यस्तै, कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताएका छन्।

 


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?