Trending
>>   पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव >>   इजरायलले युद्धविराम सम्झौतामा ढिलाइ गर्‍योः हमास >>   के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु >>   दक्षिण सिरियामा प्रदर्शनकारीमाथि इजरायली सेनाद्वारा आक्रमण >>   टर्कीले ऊर्जा, यातायात पूर्वाधारको पुनर्निर्माणमा सिरियालाई सहयोग गर्ने >>   इजिप्टले २०२४ मा ३८.७ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्छः प्रधानमन्त्री >>   दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल >>   दुर्घटनाग्रस्त अजरबैजान एयरलाइन्सको विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष >>   करिब १ सय ७ किलो गाँजा सहित दुई जना पक्राउ >>   मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख
Logo
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता


काभ्रेपलाञ्चोक। बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएपछि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा साना तथा ठुला सवारीका चालकलाई उक्त कार्यक्रम राखिएको जनाइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत दैनिक दुर्घटना न्यूनीकरणका लागि गर्नुपर्ने सावधानीका साथै दुर्घटना भइहाले गर्ने प्राथमिक उपचारलगायतका कामबारे जानकारी गराउन थालिएको हो । बुधबारदेखि बिपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा सुरु गरिएको उक्त कार्यक्रम जिल्लाअन्तर्गतका अन्य राजमार्ग एवं सहायक मार्गमा सञ्चालन गर्दै जाने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताएका छन् ।

उनका अनुसार ट्राफिक र स्वास्थ्य कार्यालयका अधिकारीले चालकलाई दुर्घटना न्यूनीकरणका उपाय तथा प्राथमिक उपचारका बारेमा जानकारी गराइन्छ । घिमिरेका अनुसार जिल्लामा चालु वर्षको पुस मसान्तसम्म २२ जनाको दुर्घटनामा निधन भएको छ भने ८२ दुर्घटना भएका छन् भने तीव्रगति, बढी आत्मविश्वास तथा अस्वाभाविकरूपमा उछिन्न खोज्नाले र चालक अनिदो हुँदा दुर्घटना हुने गरेको घिमिरेले जानकारी दिए ।

नेपाल जनसङ्ख्यायिक स्वाथ्य सर्वेक्षणले दुर्घटनामध्ये ६८ प्रतिशत मोटरसाइकल दुर्घटनामा पर्ने देखाएको छ । यसमध्ये पनि ७५ प्रतिशत बागमती प्रदेशमा दुर्घटनामा पर्ने गरेका छन् भने ट्राफिक प्रहरी र स्वास्थ्य कार्यालयको समन्वयमा मङ्गलबार बनेपाको शिक्षा सदन माध्यमिक विद्यालय तथा बेलर इन्टरनेशनल स्कुलमा अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीका लागि सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण र विद्यार्थी सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुर्घटनापछिका समस्या, दुर्घटना हुने कारण, सवारी चालक अनुमतीपत्र, सवारी चलाउँदा मादक पदर्थ र लागूपदार्थ सेवन नगर्न तथा सिकेका कुरा घरपरिवार र समुदायमा सचेत गर्न विद्यार्थीसँग अनुरोध गरे ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, स्वास्थ्य कार्यालयका प्रमुख अनिता खनाललगायतले सडक दुर्घटना न्यूनीकरणमा सरोकारवाला व्यक्ति र सङ्घसस्थाले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए। स्वास्थ्य कार्यालयले ट्राफिक प्रहरीसँगको समन्वयमा अन्य केही विद्यालयका विद्यार्थीसँगको सचेतनापछि चालक र सहचालकलाई पनि प्रशिक्षण दिने योजना बनाइएको छ ।

दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत ट्राफिक प्रहरीले कम्युनिटी वेलनेश सेन्टर बनेपाको प्राविधिक सहयोगमा गत सोमबार बनेपामा चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्दा अरनिको राजमार्ग भएर गुड्ने सवारीसाधनका अधिकांश चालक तथा सहचालक मधुमेह र उच्च रक्तचापका बिरामी रहेको पाइएको छ ।

त्यस्तै, स्वास्थ्य परीक्षण गराएका ७४ मध्ये १५ जनामा उच्च रक्तचाप र १२ जनामा मधुमेह (सुगर) देखिएको थियो । उक्त दुर्घटना बढ्दै गएको तथा चालक, सहचालकले यात्रुसँग राम्रो व्यवहार नगरेको गुनासो आएपछि स्वास्थ्य जाँच सुरु गरिएको घिमिरेले बताएका छन् ।

घिमिरेका अनुसार अधिकांश चालकमा बिहान चार–पाँचदेखि बेलुका नौ–दश बजेसम्म झण्डै १८ घण्टा सवारी चलाउँदा राम्रो निद्रा नपर्ने, खाना खाने समय नमिल्नेलगायत कारण उनीहरूको स्वास्थ्यमा समस्या देखिएको हो । सवारी दुर्घटना न्यूनीकरण गर्न चालकको स्वास्थ्य अवस्थासँगै सवारीसाधनको जाँच महत्त्वपूर्ण हुने जनाइएको छ ।

त्यस्तै, जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने सडक दुर्घटना रोकथाम तथा न्यूनीकरण समितिले न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण, विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतनालगायतका कार्य निरन्तर गरिरहने जनाएको छ भने काभ्रेपलाञ्चोक अन्तर्गत काठमाडौंबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोक, दोलखा र रामेछाप, बिपी राजमार्गबाट सिन्धुली हुँदै मध्य एवं पूर्वी तराई तथा हेलम्बु राजमार्गबाट सिन्धुपाल्चोकको मेलम्चीमा यातायातका साधन सञ्चालन हुन्छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?