Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

तरकारी खेतीबाट मनग्य आम्दानी


मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१६ मा नर्सुल्ला मियाँले व्यावसायिक तरकारीखेतीबाटै मनग्य आम्दानी गर्न सफल भएका छन् । अन्ठाउन्न वर्षीय मियाँ विगत २० वर्षदेखि देवचुलीमा तरकारीखेती गर्दै आएका छन् ।

त्यस्तै, बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थालेका हुन् । बितेको २० वर्षमा तरकारीबाटै मियाँको जीवन धेरै बदलिएको छ भने पारिवारिक स्थिति पनि निकै राम्रो भएको छ । मियाँले भने, “तरकारीखेतीबाटै मैले जीवनमा प्रगति गरेको हुँ, यहीँ व्यवसायबाट सबै परिवारलाई यहीँ सारेँ, घरघडेरी जोडे अनि चारजना छोराछोरीको पढाइसँगै विवाह पनि उम्काइसकेँ ।”

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको दुई बिघा जमिनमा खेती गरेका मियाँले वार्षिक तीन याममा तरकारी उत्पादन गर्ने गरेका छन् । अहिले काउली, बन्दा, बड्काउली बेच्न भ्याइनभ्याई भएको छ भने केही हप्ताअघिसम्म काउलीको मूल्य नपाएर चिन्तित मियाँले अहिले काउली बारीबाटै प्रतिकिलो रु २५ मा बेचेका छन् । “काँक्रो, करेला पनि लगाएको छु, अहिले बेचिरहेको छु, लगाएकामध्ये आठ कठ्ठाको तरकारी बिक्री भइसक्यो”, उनले भने, “यो याममा काउलीको भाउ नआउँदा केही घाटा भयो तर अहिले बजार सुधारियो पूरै घाटा त हुँदैन जस्तो छ ।”

त्यस्तै, वर्षभरि तरकारी फलाउने र बेच्ने मियाँले नाफाघाटाको हिसाब भने वैशाखमा मात्र गर्ने गरेका छन् । एक याममा तरकारी लगाउँदा करिब रु तीन लाख खर्च लाग्ने गरेको उनले बताए । आफूले सक्दासम्म नर्सुल्ला मियाँलाई तरकारी खेतीमा नै रमाउने मन छ । यहीँ व्यवसायबाट राजमार्ग छेउमा १२ कठ्ठा जमिन जोड्न सफल भएका मियाँका छोराछोरी पनि अहिले तरकारीखेतीमा सहभागी भएका छन् । “मेहनत गरे कृषिक्षेत्रमा राम्रो गर्न सकिन्छ, धैर्ययता र लगनशीलता चाहिन्छ”, उनले भने ।

देशमा सम्भावना नदेखेर युवाहरू विदेशिने क्रम बढिरहेको बेलामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा मियाँजस्तै किसानले तरकारीखेतीमार्फत वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गरी उदाहरणीय बनेका छन् भने त्यसैमध्येका अर्का देवचुली–१६ कै नौसाद मियाँले पनि दुई बिघा जमिनमा तरकारीखेती गर्छन् ।

उनको बारीमा काउली फलेका छन् । तीन याममा तरकारी फलाउने नौसादले अहिले धान भित्र्याएपछि टमाटर, भिन्डी, घिरौँला लगाएका छन् । उत्पादन भएको तरकारी खरिद गर्न ग्राहक बारीमै आउँछन् । बजारको खासै पिर छैन । “तीन सिजन तरकारीखेती गर्ने गरेका छौँ, धान काटेर तरकारी लगाउँछौँ”, उनले भने, “तीस मुरी धान फल्छ यही जमिनमा अनि तरकारी लगाउँछौँ, वर्षभरि खाने अन्न पनि जोहो हुन्छ ।”

त्यस्तै, तरकारीखेतीबाटै नौसादले छोराछोरीको पठनपाठन, औषधोपचारलगायतको घरखर्च राम्रोसँग चलाएका छन् । उत्पादन भएको तरकारी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडौं निर्यात हुने गरेको उनले बताएका छन्।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?