Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

हिउँदे वर्षा नहुँदा किसान चिन्तित


महोत्तरी। माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदे वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ ।

त्यस्तै, हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन’, महोत्तरीको बलवा-१० धमौराका हासिम राइनले भने, ‘एकपटक पानी परे हुस्सु फाटेर चिसो हावा चल्न छाड्ने थियो, तर खै पानी पर्ने त छाँट नै छैन ।’पानी नपर्दा लगातारको शीतलहरले तरकारी बालीलाई क्षति पुर्‍याएको उनको गुनासो छ । ‘बाक्लो तुसारोले आलु बोटमै सुक्यो, गोलभेँडा सड्दै बोटबाट झर्दैछन्, कोभीका फूल बढ्न नसकेर कक्रेका छन्’, उनले भने,’एकपटक अहिले पानी परे मौसम सफा भएर घाम तात्न थाल्थे, बालीनालीलाई राहत मिल्थ्यो ।’

विगतमा माघ लागेपछि हुस्सु फाट्दै गएर पारिलो घाम लाग्ने किसान बताउँछन् । ‘तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व मनाएपछि त घाम तात्थ्यो, तर यसपालि त माघ आधा हुनलाग्दासम्म हुस्सुले छाडेको छैन’, भङ्गाहा–४ रामनगरका ८५ वर्षीय किसान मोती महतोले भने, ‘यो मौसमको कुलक्षण नै हो, आउने दिन खुसीका हुने छैनन् ।’हिउँदे वर्षा नहुँदा बालीनाली हुर्कन नसकेका र खानेपानीका स्रोत मुहान सुक्दै जान सक्नेमा उनले चिन्ता व्यक्त गरेका छन् ।

त्यस्तै, हिउँदे वर्षा कुहासा (हुस्सु) फटाउने, चिसो पश्चिमी हावा (स्याँठ) चल्न छाड्ने र क्रमशः घाम तताउँदै लानेमात्र नभई बालीनालीका लागि अत्यन्त पोषिलो हुने जनाइएको छ भने बर्दिबास-१२ डाँडाटोल बिजलपुराका ७५ वर्षीय किसान रामसुन्दर ठाकुरले भर्खरै हुर्कँदै गरेका वैशाखी लहरे तरकारी, उखु, अन्नबालीमा गहुँ र आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने बताएका छन् ।

त्यस्तै, हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोत इनार, चापाकल पनि गर्मी चढेसँगै चाँडै सुक्ने गरेका छन् भने भङ्गाहा-४ रामनगरकै ९० वर्षीय हाजीबिहारी अन्सारीले यसपालि माघ दोस्रो साता बित्दै गर्दासम्म पानी नपरेको हुँदा नै हुस्सु र चिसो हावा नफाटेको बताए ।

फलफूलखेती -आँप, लिच्ची, सपाटो र रुखकटहरसहितका फल) सघन हुने बर्दिबास नगरपालिकाका बिजलपुरा, पशुपतिनगर, खयरमारा, चेरु, गणन्ता, ढुङ्ग्रे, टुटेश्वर, पाटु, वरडाँडा र माईस्थानका किसान यसपालि हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको समस्या बढ्ने चिन्तामा छन् । त्यसैगरी जिल्लाकै फलफूलखेतीको पकेटक्षेत्र मानिने गौशाला नगर क्षेत्रका भरतपुर, लक्ष्मीनियाँ र बेलगाछीका किसान पनि हिउँदे वर्षा नहुँदा अपेक्षित उत्पादन लिन नसकिने जनाइएको छ ।

त्यसैगरी, हिउँदे वर्षाले बालीनालीका लागि माटो भिजाउनेमात्र नभई रोग लाग्न नदिने र बाली हलक्क बढाउने गर्दछ । ‘हिउँदे वर्षा सिँचाइका लागिमात्र होइन, बालीको पोषण र रोग प्रतिरोधका लागि पनि सहयोग हुन्छ’, बर्दिबास-९ पशुपतिनगरको झ्याकुलेटोलका ६५ वर्षीय किसान महेन्द्र महतोले भने, ‘हिउँदे वर्षा नहुँदा प्रकृतिका सन्तुलन खलबलिन्छन्, जताततै यसको असर बढ्नेछ ।’ हिउँदे वर्षाको मानव र यावत जीवजन्तुको स्वास्थ्य र अन्य आहारव्यहारमा पनि सकारात्मक प्रभाव हुने ८५ वर्षीय नथुनी महतोको अनुभव रहेको छ ।

महोत्तरीको कुल ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अधिकांशमा आकाशे पानीको भरमा खेती गरिन्छ । यहाँ १० प्रतिशतमात्र खेतीयोग्य जग्गामा स्थायी सिँचाइ (कुलो, नहर लाग्ने) पुगेको छ । हिउँदे वर्षा नहुँदा पानीका मुहान चाँडै सुक्ने र विभिन्न रोगव्याधका समस्या पनि बढ्ने गर्छन् ।


प्रकाशित मिति: १० माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?