Trending
>>   संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी >>   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ : सभामुख >>   सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन >>   जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायात पूर्वाधार निर्माण हुनुपर्दछः मन्त्री दाहाल >>   राष्ट्रिय गौरवका आयोजनाहरुको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन >>   चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न >>   सर्वसाधारण भन्छन् : धरहराको शुल्क बढी भयो तर पहिलाको भन्दा व्यवस्थित छ >>   बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने >>   एमालेले कामनपाको जरिबाना पत्र बुझेन, बालेनले स्टन्टबाजी गरेको आरोप >>   इजिप्टमा टोलेमाइक युगको मन्दिर फेला
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

तिम्ल्याहा बच्चा जन्माएकी रबिनालाई पालिकाले दियो लहिनो गाई


काठमाडौं। गौरीगञ्ज गाउँपालिका-४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ ।

उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला-मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो । त्यस्तै, तिम्ल्याहा सन्तान विराटनगरको नोबेल मेडिकल कलेजमा जन्मिएका थिए । सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान पालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो भने शिशुहरूको स्याहारसुसारमा व्यवस्था हुनुपर्दा रबिनाका श्रीमान् ज्यालादारी काममा जान नभ्याउँदा दैनिक कमाइ शून्य भएको छ ।

त्यसैगरी, ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन् । घरमा पाँच वर्षमुनिका दुई छोरी पनि छन् । यसअघि पतिपत्नीले मजदुरी भएका आम्दानीले परिवारको छाक टर्दै आएको थियो भने ताजपुरिया परिवार आफ्नो जग्गा नभएकाले ऐलानी जग्गा भएको सुकुम्बासी बस्तीमा बस्दै आएको छ । ताजपुरिया परिवारलाई खाद्यान्न सहयोग र लत्ताकपडाको खाँचो छ । ऐलानी जग्गामा रहेको भुइँघरमा ओछ्याउने र बस्ने न्याना कपडा छैनन् । शिशु बिरामी हुने जोखिम बढेको छ भने शिशुलाई लगाइदिने पर्याप्त न्यानो कपडा परिवारसँग छैन । शिशु सुताउने कोक्रो नभएकाले साडीको कामचलाउ झोलुङ्गो बनाइएको छ ।

पालिकाले दियो लहिनो गाईगौरीगञ्ज गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुको भरणपोषणका लागि लहिनो गाई दिएको छ । उक्त पालिकाको तर्फबाट अढाइ लिटर दूध दिने एउटा लहिनो गाई निःशुल्क उपलब्ध गराइएको पालिकाक‍ी उपप्रमुख पुजन न्यौपानेले बताइन् । त्यस्तै, नवजात तीन शिशुलाई हुर्काउन सहज होस् भनेर पालिकाले दुधालु गाई ३३ हजार रुपैयाँमा किनेर दिएको उनले जानकारी दिइन् ।

लहिनो गाई प्रदान गर्न गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी र उपाध्यक्ष न्यौपाने सुत्केरी महिलाको घरमै पुगेका थिए । त्यस्तै, नवजात शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा पनि पालिकाको टोलीले जानकारी लिएको थियो भने अर्थ अभावले सुत्केरी र नवजात शिशुको ताजा स्वास्थ्य अवस्थाको परीक्षणसम्म हुन सकेको छैन । यसैबीच जर्मनीमा रहेका गौरीगञ्जका गजेन्द्र न्यौपानेले पुष्प बरुवाल फाउण्डेसनमार्फत सुत्केरी ताजपुरियाको सहयोगका लागि ३० हजार पठाइदिएको पालिकाका उपाध्यक्ष न्यौपानेले बताइन् ।

उक्त रकम परिवारको आवश्यकताअनुसार खर्च गरिने र नवजात शिशुका नाममा बैंकमा मुद्दती खाता खोलेर जनही पाँच हजार जम्मा गरिदिन दाताले आग्रह गरेको उनले जानकारी दिइन् । गौरीगञ्ज गाउँपालिकाले सुत्केरीका लागि दमकसम्मका अस्पताल पुर्‍याउन गाउँवासीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिँदै आएको र सीमान्तकृत र दलितका कक्षा १ मा पढ्ने छोराछोरीलाई रु. पाँच हजारको मुद्दती खाता खोलिदिने कार्य गरिरहेको उपाध्यक्ष न्यौपाने बताइन् ।

चालु आर्थिक वर्षदेखि नै कक्षा १ का विद्यार्थीलाई बैंकको मुद्दती खातामा पैसा जम्मा गरिदिने गरी रु. १० लाखको बजेट व्यवस्था गरिएको उनले बताइन् ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?