Trending
>>   धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता >>   आज जनकपुर बोल्ट्स र विराटनगर भिड्दै, सबै टोली उत्साहित >>   आज मिति २०८१ साल मङ्सिर १५ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   एनपिएल र नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु– शिखर धवन >>   बालाचतुर्दशीको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै भक्तजन >>   बुद्धका आचरण र दर्शनलाई आत्मसाथ गरेर समाजमा प्रश्तुत हुन प्रधानमन्त्रीको आग्रह >>   रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ >>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

मिथिला क्षेत्रमा सामाचकेवा पर्व समापन गरिँदै


महोत्तरी। महोत्तरी सहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व आज समापन गरिँदैछ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज ११औँ दिनमा समापन हुन लागेको हो । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खर्नाका दिन देखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन गरिने मैथिल परम्परा रहेको छ ।

त्यस्तै, द्वापरयुगका पौराणिक पात्र सामाचकेवा (श्रीकृष्ण पुत्री सामा र उनका प्रेमी चक्रधर) को अमर प्रेमको सम्झनामा यो पर्व मनाउन थालिएको हो । सामा र चक्रधरलाई श्रीकृष्णले स्वच्छन्द प्रवृत्तिका भए भन्दै चरा योनीमा जाने श्राप दिएको किंवदन्ती छ भने पिताका श्रापले चरा योनीमा पुगेका सामा र चक्रधर (चकेवा) लाई श्रापमुक्त गराउन सामाका दाजु साम्बले श्रीशिवको कठोर तपस्या गरेर पितालाई रिझाई सामा र चक्रधरलाई श्रापमुक्त गराउन सक्ने वरदान पाएका थिए । उक्त वरदानले सामा र चक्रधर श्रापमुक्त भई पूर्वयोनीमा आई विवाह गरी घरजम गर्न पाएका कथा नै पर्वको परम्परा बनेको संस्कृतिका जानकार बताउँछन् । बहिनी सामाप्रति साम्बले देखाएका उदारता र स्नेहको कदर गर्दै मिथिलामा दिदीबहिनीले साम्बजस्तै समर्पित हुने दाजुभाइ हुन भन्ने विश्वासमा पर्वका गीतमार्फत भाव पोख्दछन् । सो पर्वमा सामा, चकेवा, चरा, वृन्दावनसहितका कथासँग जोडिने आकृतिका माटाका खेलौना बनाएर पर्वभरि रातमा दाजुभाइको सौर्य बखान गर्दै गीत गाइन्छ । बोलीचालीमा ‘सामा खेल’ भनिने यो पर्व मिथिलामा थारु जाति समुदायमा विशेष तयारीका साथ मनाइन्छ ।

त्यस्तै, मिथिलाका अन्य समुदायका दिदीबहिनीले पनि यो पर्व उल्लासका साथ मनाउँदै आएका छन् भने दाजुभाइ दिदीबहिनीबीच प्रेम र सद्भावको प्रतीक मानिने सामाचकेवा पर्वमा दिदीबहिनीले पछिल्ला १० दिनभरि चकमन्न रातमा बस्तीका चौबाटोमा जम्मा भएर आफ्ना दाजुभाइको सौर्य (बहादुरी) बखान गर्दै राती सामूहिक गीत गाएका थिए । त्यस्तै, कात्तिक पूर्णिमाका दिन माटो मुछेर बनाइएका चुगला, बृन्दावन, सप्तर्षिसहितका आकृति दाजुभाइले घुँडामा राखेर फुटाएपछि दिदीबहिनीले जोतेको खेतमा ती टुक्रा विसर्जन गर्दै आज यो पर्व समापन गर्दैछन् । उक्त पर्व मनाउन विवाहित कतिपय दिदीबहिनी माइत जान्छन् भने कतिपयले भने आफ्नै घरमा दाजुभाइ बोलाउँछन् । अविवाहित दिदीबहिनीले भने दाजुभाइसँगै आफ्ना घरमा पर्व मनाउँछन् । द्वापरयुगमा श्रीकृष्ण पुत्र साम्बले आफ्नी बहिनी सामाको चारुवक्त्र (चक्रधर) सँगको प्रेम सफल बनाउन गरेका योगदानको स्मरण गर्दै दाजुभाइलाई यो पक्षमा सम्झना गरिएको सामा खेल्ने मिथिलानी बताउँछन् ।

उक्त पर्व समापनमा दिदीबहिनीले दाजुभाइलाई पुजन गर्दै मिष्ठान्न भोजन गराउँछन् भने दाजुभाइले दिदीबहिनीलाई वस्त्रआभूषण र गच्छअनुसार दक्षिणा दिन्छन् । यो पर्वले दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम र सद्भाव प्रगाढ बनाउने मैथिल विश्वास गर्छन् ।


प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?