Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

काठमाडौं सहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो


काठमाडौं। आज हरिबोधिनी एकादशी: काठमाडौं उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण) लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो । त्यस्तै, काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने सो मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरु पूजा गर्न र तोरण टाँग्न भेला भएका देखिएको थियो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधिअनुसार पूजाआजा गरी आज दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलन रहेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु भगवान् आज ब्युँझनु हुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । त्यस्तै, चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै सोहीअनुसार हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज तुलसीको पूजा गर्ने प्रचलन छ भने मठलाई गाईको गोबर र रातो माटोले पोतेर सिँगारेपछि फूलको माला लगाइदिएर तुलसीको विवाह गर्ने गरिन्छ ।

त्यसैगरी तुलसीलाई विष्णुप्रिया पनि भन्ने गरिएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा रहिआएको हो । विष्णु भगवानको प्रतिकका रूपमा तुलसीको तुलसीको मठको नजिकै पारेर निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ भने हरेक वर्षको कार्तिक महिनाभर देवीदेवताहरू तुलसीमै बास गर्छन् भन्ने धार्मिक विश्वास पनि रहिआएको छ । हरिबोधिनी एकादशीलाई वर्षभरका अरु एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण मान्ने गरिन्छ । यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिने गरिन्छ । नारायणको पूजा गरी आजको दिन भक्तजनहरू फलाहार गर्ने गर्दछन् भने आज सखरखण्ड, पिँडालु, गिठालगायतका कन्दमूल र फलफूल प्रसादका रूपमा खाने गरिन्छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?