Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

१३ सय वर्ष पुरानो गङ्गाजमुना जात्रा


मलेखु,धादिङ। धादिङको गङ्गाजमुना झरना धार्मिक तथा पर्यटकीयरुपले परिचित स्थल हो । यस झरनामा वषौँदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । देशका थुप्रै जिल्लाबाट यो मेला हेर्न र गङ्गाजमुना माईको दर्शन गर्न उल्लेख्य सङ्ख्यामा आउने गर्दछन् । धादिङका उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधिनी एकादशीको दिन लाग्छ । गङ्गाजमुना गाउँपालिकाको नाम पनि यही मेलाको नामबाट राखिएको हो । यस वर्ष बुधबार बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरी पूजाआजा गरेका छन् । त्यस्तै, तेह्र सय वर्ष अगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौँ, हाम्रो यही पूजापाठ गर्नुहोला भनेपछि उनै गङ्गा र जमुनाको सम्झनामा हरेक वर्ष गङ्गाजमुना माईको मेला सुरु भएको किम्बदन्ती छ भने गङ्गाजमुना गाउँपालिका–५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गङ्गा र जमुना नामका दुई झरना छन् । त्यस्तै, तीन सय मिटर माथिबाट झर्ने यो झरनामा नुहाएर मनले चिताएको पूरा होस् भनेर आर्शिवाद माग्ने चलन छ भने झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरिन्छ । एकादशीको दिन बिहान गङ्गाजमुनाको छहरामा स्नान गरी डोली तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान् गङ्गाजमुनाको दर्शन गरी फर्किने चलन छ । गङ्गाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ । भक्तजनले गङ्गाजमुना कुण्डमा नुहाउँदा रोगव्याधी निको हुने तथा परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक विश्वास रहिआएको गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताएका छन् ।

त्यसैगरी गङ्गाजमुना झरनासँगै रहेको कुकुर धारोमा नुहाउनेको घुइँचो लाग्छ । विशेष गरी वर्षभरि कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि कुकुरधारोमा नुहाउने चलन रहेको छ । सो मेला भर्न धादिङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा, तनहुँ, कास्की, काठमाडौंलगायत ठाउँबाट भक्तजन यहाँ आउने गर्छन् । स्थानीय सिंहबहादुर तामाङ भन्छन्, “एकादशीको राति झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भाकल बुझाउन वा दर्शन गर्न आउनेले रातभर आ–आफ्नो वेशभूषा र पहिरनअनुसारको कला देखाउँछन् । बिहान झरनामा स्नान गरी पूजापाठ गरेर फर्कन्छन् ।” उक्त जात्रा धादिङको गङ्गाजमुना गाउँपालिकास्थित फूल खर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदाएको दृश्य निकै रोमाञ्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रिकालीन साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको छ । लङ्गुरबुर्जा खेल यहाँको रात्रिकालीन जात्राको विशेषता हो । त्यस्तै, हरिबोधिनी एकादशीमा भगवान् विष्णु एवं नारायणको पूजा हुने गरे पनि गङ्गाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण र आकर्षक भए पनि त्यस ठाउँसम्म पुग्न सडकको असुविधा छ भने सडकको सुविधा हुन सके विकट स्थानमा रहेको गङ्गाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ ।


प्रकाशित मिति: ७ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?