मानव समुदायलाई मानवजन्य दिसा र पिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्र संघले सन २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको छ । यस बर्ष पनि संयुक्त राष्ट्र संघको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । यस बर्षको नारा परिवर्तको गति बढाउदै भन्ने राखिएको छ । संयुक्त राष्ट्र संघले सन २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ । दिगो विकासको छैठौ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाईको विषय रहेको छ । तर २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र सरसफाई शतप्रतिशत हुने अवस्थामा पुर्याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र संघले यस बर्षको नारा परिवर्तनको गति बढाउदै भन्ने राखेको हो ।
राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुलास्थानमा दिसा.पिशाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । यसले प्रकृति, महिला, केटी र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ । सुरक्षित शौचालय, पूर्ण सरसफाई र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न हामीसंग अब ७ बर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न हामीले अहिले गरेको कामको गति ५ गुना तीब्र बनाउनु पर्दछ । यस बर्षको अभियानमा राष्ट्र संघले हमिड. बर्डको उपयोग गरेको छ, जसले आफ्नो चुच्चोमा पानी बोकेर भयंकर डँडेलो(आगजनी)संग लडेको भन्ने प्राचिन कथाको सन्देश बोकेको छ । यसले हामी सबैले आआफ्नो स्थानबाट सानोभन्दा साना प्रयास गरेमा ठूला समस्याको समाधान गर्न सक्छौ भन्ने सन्देश दिएको छ ।
दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भएपनि पूर्ण सरसफाईको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको छ ।संयुक्त राष्ट्रसंघको खानेपानी तथा सरसफाई हेर्ने निकाय युएन वाटरले सार्वजनिक गरेको विवरण अनुसार नेपालको ५१ प्रतिशत जनसंख्याले मात्र सुरक्षित सरसफाई सेवा उपयोग गर्ने गर्दछन् । आउदा ७ बर्षमा झण्डे आधै जनसंख्यालाई यस्तो सेवा पुर्याउन पर्ने अवस्था छ । नेपालका ६४ प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ । यसलार्य पनि शतप्रतिशत पुर्याउनु पर्नेछ । घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुन सकेको छ । बाँकी ६१ प्र्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै छ ।
नेपालमा शहरीकरण तीव्र गतिमा बढेको छ तर त्यही गतिमा शहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचना तथा तिनीहरुमा बग्ने फोहर पानीको प्रशोधन र उचित व्यवस्थापनको काम हुन बाँकी छ । नेपाल १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाईमा अग्रसर राष्ट्र घोषणा भएको हो । सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबैभन्दा पहिला कास्की जिल्ला खुला दिसामुक्त घोषणा भएको थियो । झण्डै ९ बर्षको अनवरत प्रयासपछि २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो । नेपालमा पूर्ण सरसफाईको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाई सप्ताहको रुपमा कार्यान्वयनमा ल्याइएको थियो । २००३ मा समुदायको अगुवाईमा यो अभियान बढाइयो भने २००६ मा विद्यालयको अगुवाईमा । सन २००८ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सरसफाई बर्षको रुपमा घोषणा गरेपछि यसले ब्यापक जनजागरण ल्यायो । सन २०११ मा सरसफाई गुरुयोजना नै बनाएर सरसफाईका सूचक र चरण निर्धारण गरियो । गुरुयोजना अनुरुप आधारभूत स्तरको सरसफाई सुनिश्चित गर्ने उद्देश्यले सन् २०१७ सम्म प्रत्येक घरमा चर्पी बनाउने अभियान सञ्चालन भयो । नेपाललाई २०१७ मा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य दुई बर्ष ढिलो गरी २०१९ सेप्टेम्बर ३० मा हासिल हुन सक्यो ।
प्रकाशित मिति: ३ मंसिर २०८०, आईतवार