Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

उच्च अदालतको आदेश : फिर्के खोलाका संरचना तत्काल नहटाउनु


२५ ,कात्तिक ,कास्की । उच्च अदालत पोखराले पोखराको फिर्के खोला किनारका संरचना तत्काल नहटाउन अन्तरिम आदेश जारी गरेको छ ।

पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेपछि अदालतले सो सूचना कार्यान्वयन नगर्न आदेश गरेको हो ।

महानगरको सूचनालाई लिएर स्थानीय राजन रौनियारसमेतले दायर गरेको रिटमा शुक्रबार अदालतले सुनुवाइ गर्दै निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म तत्काल महानगरको सूचनाको कार्यान्वयन नगर्नू÷नगराउनू तथा यथास्थितिमा राख्नु भनी विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको हो ।

पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलाको मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउनका लागि महानगरले गत कात्तिक १० गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

महानगरपालिकाले भवन निर्माण संरचना बनाउँदा यसअघि नक्सापास गरेको स्मरण गराउँदै भत्काउनुपर्ने भए जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जाको व्यवस्था गर्नुपर्ने निवेदकको जिकिर छ ।

निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल र अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए । पोखरा महानगरपालिका वडा २, ४, ५, ६, ७, ८, १७ र १८ अन्तर्गत फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने महानगरको तयारी थियो ।

फिर्केखोलाको खोलाघरभित्र एक सय ६० संरचना बनेका छन् । तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका सङ्घसंस्थाले संरचना बनाएका छन् ।

गत साउन पहिलो साता महानगरले फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउनका लागि प्राविधिक समिति बनाएर सीमाङ्कन सुरु गरेको थियो । सो प्राविधिक समितिले एक महिना लगाएर खोलाको नाप जाँच गरेको थियो ।

प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्के खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका संरचना निर्माण गरेको पाइएको थियो । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक सङ्घसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको थियो ।

महानगरले फिर्केका अतिक्रमित संरचना हटाएर सो क्षेत्रमा दिगो पर्यटन विकास परियोजना सञ्चालनको तयारी गरेको छ । सो परियोजनाअन्तर्गत फिर्केको संरक्षण, सम्वद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।


प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?