Trending
>>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की >>   सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो >>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

कालीगण्डकी करिडोरले जोड्यो लुम्बिनी र मुक्तिनाथ


गलकोट । भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो, कालीगण्डकी करिडोर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।

अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो । करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनीसँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । उनले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम कालोपत्र भइरहेको सुनाए ।

करिडोरअन्तर्गत बागलुङमा मात्रै ४४ किलोमिटर सडक पर्छ । यस सडकले बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, जैदी हुँदै छिस्ती छिचोलेर गुल्मी पुग्ने गरेको छ । ‘दक्षिण बागलुङको विकासको ढोका करिडोरले खोलेको छ, मार्ग (ट्रयाक) खुलेको पाँच वर्षमा नै कालोपत्र भइरहेको छ, करिडोरको बाटो भएर भारतीय पर्यटक मुक्तिनाथ र चीनका पर्यटकलाई लुम्बिनी भित्र्याउन सकिन्छ, त्रिदेशीय व्यापारिक सम्बन्ध स्थापित हुन्छ”, उपप्रमुख शर्माले भने ।

करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् । कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनी बताउँछन् ।

बागलुङका स्थानीय सनम रानाका अनुसार बागलुङमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको मिलनविन्दु भएकाले पर्यटकीय क्षेत्रको विकासमा सडक सञ्जालले सहयोग पुरयाउने छ । करिडोरको ट्रयाक खोलेको पाँच वर्षमा विभिन्न खण्डमा स्तरोन्नतिसँगै धमाधम कालोपत्र भइरहेको छ । गैँडाकोटबाट चीनको सिमाना कोरलानाकासम्म करिडोरको चार सय ९५ किलोमिटरको २०७६ सालमा नै नेपाली सेनाको सहयोगमा ट्रयाक खुला गरिएको थियो । चीनका पर्यटक करिडोरबाट नै लुम्बिनी आउन थालेका हुन् ।

करिडोर निर्माण गर्ने २४ वर्षअघिदेखिको योजना अहिले साकार हुने क्रममा छ । गैँडाकोट–राम्दी–मालढुङ्गा दुई सय २४० किमी र मालढुङ्गा–बेनी–जोमसोम सडकखण्ड २५५ किलोमिटर गरी दुई खण्डमा विभाजन गरेर करिडोरको स्तरोन्नति र कालोपत्र भइरहेको छ । गैँडाकोट–मालढुङ्गा खण्डको दुई सय ४० किमीमध्ये एक सय ६२ अर्थात् ६७ प्रतिशत सडक कालोपत्र भइसकेको कालीगण्डकी करिडोर गैँडाकोट–मालढुङ्गा आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिए ।

सामाजिक अभियान्ता टीकाराम ढकाल कालीगण्डकी करिडोर एक धार्मिकमार्ग भएको बताउनुहुन्छ । लुम्बिनीबाट मुक्तिनाथ हुँदैै मानसरोवर जानलाई करिडोरले सहज भएकामा कालोपत्र सम्पन्नपछि थप सहज हुने उहाँको अपेक्षा छ । चीन र भारतलाई सिधा जोड्ने करिडोरमा सवारीसाधन गुड्न थालेपछि भारतका तीर्थयात्री रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुग्ने थालेका छन् ।

चीनका बौद्धमार्गीहरू भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा ल्याउने वातावरण मिलाउन आवश्यक रहेको ढकालको भनाइ छ । चौबीस वर्षअघि करिडोरको परिकल्पना गुल्मीबाट गरेको ढकालले बताए ।कालीगण्डकी करिडोरले पवित्र कालीगण्डकी नदी क्षेत्रमा रहेको रुरु, कालिका मन्दिर, गलेश्वर, मुक्तिनाथ मन्दिरजस्ता धार्मिक पर्यटकीय क्षेत्रको विकासमा टेवा पुर्याएको बताए ।

करिडोर क्षेत्रमा त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्त्वपूर्ण तीर्थस्थल पर्छन् ।


प्रकाशित मिति: ९ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?