Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगञ्जवासी


राँझा,बाँके। जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पुर्‍याउन नेपालगञ्जवासी जुटेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगञ्जवासीले स्वःस्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगञ्जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए । त्यस्तै, उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएका गम्भीर घाइते बिरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रममा स्वःस्फूर्त रगत सङ्कलन भएको हो । नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा एक सय ५८ पिन्ट रगत मौज्दात रहे पनि आकस्मिक अवस्थाका लागि थप मौज्दात गर्न रगत सङ्कलन सुरु गरिएको हो । भूकम्पका घाइतेको उपचारका लागि रगत आवश्यक पर्न सक्ने जनाई सर्वसाधारणलाई खुला रक्तदानमा सहभागी हुन गरिएको आग्रहबमोजिम ठूलो सङ्ख्यामा रगत दिन स्थानीय युवा रक्त सञ्चार केन्द्रमा पुगेको मल्लले बताए ।

भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका भूकम्पका घाइते बिरामी र बिरामीको कुरुवा तथा भेट्ने आफन्तका लागि अस्पताल परिसरमा सञ्चालित अञ्जनी माता रसोइमा आइतबारदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ भने भूकम्पका घाइते बिरामी तथा पीडित परिवारलाई सहजरूपमा भोजनको व्यवस्था मिलाइएको अञ्जनी माता रसोइका सञ्चालक सदस्य विजय गुप्ताले बताए । नेपालगञ्जका अगुवा व्यापारी नन्दलाल वैश्यले शनिबार नै अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवालाई कम्मल र उनीको पछ्यौरा प्रदान गरेका छन् । भेरी अस्पतालमा गए राति थप छ जना बिरामी एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको छ भने दुईजना भेरी नगरपालिका जाजरकोटका र चारजना सानीभेरी रुकुम पश्चिमका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । उनका अनुसार हालसम्म बाँकेमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३८ पुगेको छ । उपचाररत घाइतेमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एकजनाको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचाररत घाइतेमध्ये पाँच जनाको गए राति सफल शल्यक्रिया भइसकेको छ भने एक जनाको शनिबार बाटोमै मृत्यु भएको थियो ।


प्रकाशित मिति: १९ कार्तिक २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?