Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई


सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्लाव्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा सोही नगरपालिकाको वडा नं ११ खार्मीलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले उपाधि चुमेको हो । निकै रोचक भएको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल नभएपछि ‘ट्राइब्रेकर’मार्फत प्रतियोगिताको उपाधि छिनोफानो गरिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडी सहभागी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् ।

प्रतियोगिताका विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईलगायतले संयुक्तरूपमा पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमलाई क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ६६ हजार छ सय ६६ र रु ३३ हजार तीन सय ३३ नगदका साथमा ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताको अनुशासित टिममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा तथा बेष्ट प्लेयरमा नेर्पाका सुरज राई घोषित भएका छन् । अनुशासित टिम र बेष्ट प्लेयरलाई क्रमशः नगद रु पाँच हजार पाँच सय ५५ प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभरका बेष्ट किपरमा खार्मीका निशान विश्वकर्मा, बेष्ट डिफेण्डरमा खार्मीकै ध्रुव विश्वकर्मा, बेष्ट मिड फिल्डरमा नेर्पाका पारश कार्की, हाइस्कोररमा नेर्पाकै विदेश राई, बेष्ट कोचमा नेर्पाका वीरेन गुरुङ र योङगेष्ट प्लेयरमा नेर्पाकै प्रज्वल गुरुङ घोषित भएका छन् । बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाइस्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार तीन सय ३३ प्रदान गरिएको क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता समापनको अवसरमा युट्युबर एवं पत्रकार मनोज आचार्यलाई नगद रु पाँच हजार पाँच सय ५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गरिएको आयोजकले जनाएको छ । युट्युबर एवं पत्रकार आचार्यले तेस्रो संस्करणको प्रतियोगिता सफल पार्न उल्लेख्य भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको आयोजकले जनाएको छ । खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले दोस्रो संस्करण विसं २०७५ वैशाखमा सञ्चालन गरेको थियो । दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले उचालेको थियो । प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राईले यही फागनु ६ गते सोल्मा स्पोर्टस् क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको थियो । सोल्माका स्थानीय समाजसेवी एवं सिङ्गापुर प्रहरीका पूर्वप्रहरी निरीक्षक रुद्र राईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलोपटक आफ्नै खेलमैदान निर्माण गरेको छ ।

सोल्मा स्पार्टस् क्लबको खेलमैदान मध्यपहाडी लोकमार्गभन्दा करिब तीन किलोमिटर टाढा रहेको छ । प्रतियोगिता समापन कार्यक्रममा सितोरियो करातेका राष्ट्रिय खेलाडी विद्याकला राईलाई उहाँका ‘मावली विक्रम परिवार’ले नगद रु एक लाखसहित सम्मान गरेको छ । खेलकुदको माध्यमबाट आफ्नो जिल्ला तथा परिवारलाई विश्वमा परिचित गराएको भन्दै मावली परिवारले सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–७९ मा विद्याकलाले ५५ केजी तौल समूहमा रजत पदक हासिल गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा घर भएकी विद्याकलाले जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा दर्जनौँ पदक प्राप्त गर्नुभएको छ ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?