Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै


८ ,असोज ,राँझा (बाँके) । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ ।

साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए ।

“पहिला साँघुरो सडक हुँदा धेरै दुःख थियो, ठूला गाडीले सडक च्याँपेर आउँदा मोटरसाइकल चलाउनेलाई धेरै कठिन हुने गर्दथ्यो”, उनले भने, “अहिले चारलेन सडक भएपछि धेरै राम्रो भएको छ ।”

साँघुरो सडकलाई विस्तार गरेर चारलेन बनाउने कार्यले गति लिएपछि बाँकेको जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा बजार क्षेत्रको मुहारै परिवर्तन भएको छ ।

बर्सातको समयमा निर्माणको काम भइरहँदा आवतजावतमा केही समस्या भए पनि सडक निर्माणको काम द्रुत गतिमा भइरहेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

उनले नेपालगञ्ज–गुलरिया सडक बाँके र बर्दियावासीको लाइफलाइनका रुपमा रहेकाले यसको विस्तारले दुवै जिल्लाका नागरिकमा खुसीयाली छाएको उल्लेख गरे ।

नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकामा बर्सातको समयमा पनि काम भइरहेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार योजनाको काम धमाधम भएको उल्लेख गरे ।

उनका अनुसार ३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज–गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण गरिनेछ ।

यस सडकमध्ये एक दशमलव आठ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१ दशमलव एक किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुनेछ ।

सडक स्तरोन्नतिका लागि रु दुई अर्ब ६९ करोडमा खर्च हुने जनाइएको छ । गत भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु भएको हो ।

यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको इञ्जिनियर पाण्डेले बताए ।

सडक निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधि नवीन शर्माले नेपालगञ्ज–गुलरिया सडकविस्तार सम्झौताको समयावधिभित्रै सम्पन्न गर्ने गरी दु्रत गतिमा काम भइरहेको बताए ।

उनले सडकमा पानी जम्न नदिन खाल्डाखुल्डीमा नियमितरुपमा आवश्यक ग्राभेल गरी आवतजावतमा सहज बनाउन कामदार परिचालन गरिएको जानकारी गराए ।

“हामीले सोचेभन्दा बढी मात्रामा पानी परेकाले केही समस्या भएको छ”, उनले भने, “सर्वसाधारणलाई आवतजावतमा समस्या हुन नदिन र फसेका मालवाहक सवारीसाधन निकाल्न आवश्यक तयारी गरेका छौँ ।”


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?