Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

बागलुङमा लोप हुँदै मगर भाषा, पाठ्यक्रममा समेट्न स्थानीयको माग


३० भदाै, बागलुङ । दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गर्थे। पछिल्लो समय भने यहाँ मगर भाषा बोल्न छोडिएको छ। बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्ताले चटक्कै बिर्सिएको ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले बताए।

पुर्खौँदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन्। अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ। त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन।

भुजी खोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम छ। ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरूको भाषा हराउने अवस्थामा पुगेको बताए। “हाम्रो पालामा स्कुल जाने, पढ्ने, लेख्ने जमाना थिएन, सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ,” उनले भने, “अहिले मगर बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन् सिक्दै सिकेनन्।”

ढोरपाटन नगरपालिका–४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ। आधुनिक प्रविधिको विकास र अरूको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ। उनका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्थे।

ढोरपाटन नगरपालिका–६ कि खिमकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्त गरिन्। मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो। अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताइन्। भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उनको जोड छ।

“पहिला सानोमा अरूले बोलेको सुनेर हामीले पनि मगर बोल्थ्यौँ। अहिले अरूले बोलेको सुनिँदैन, बुढापाका बाहेक अरूले बुझ्दैनन्, केटाकेटीलाई सिकाउन पाए भाषा संरक्षण हुने थियो,” खिमकुमारीले भनिन्, “भाषा सिक्नका लागि नगरपालिकाले सहयोग गर्नुपर्छ, विदेशी जान भाषा सिक्न हुने आफ्नै भाषा सिक्न नहुने भन्ने हुन्छ र?”

पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाषा लोप भइसकेको छ। यस क्षेत्रमा बोलिने भाषालाई निसेल, भुजेल र भल्कोटे भाषा भनिन्छ।

निसीखोला गाउँपालिकाले भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन शुरू गरेकाले यहाँ भने लोप हुने अवस्था नआएको स्थानीयको भनाइ छ। ढोरपाटनमा पनि विद्यालय तहदेखि नै पाठ्यक्रम बनाउनुपर्ने स्थानीयको माग छ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको बताए। संरक्षणका लागि पालिकाले योजना बनाएर अघि बढ्ने उनको भनाइ छ।

“अहिलेका नयाँ पुस्ता कसैले पनि मगर भाषा बुझ्दैनन्, हामीले यो भाषाको संरक्षण गर्न जरुरी छ,” उनले भने, “यसको संरक्षणका लागि विभिन्न समुदायसँग छलफल गरेर नयाँपुस्तालाई पनि मगर भाषा सिकाउने गरी योजना बनाएका छौँ।”


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?