Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी


२९ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थालेका छन् । सात वर्ष विदेश बसेर फर्केका उनले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गरेका छन् ।

“विदेशमा नेपालीले कम्पनीमा जस्तोसुकै राम्रो काम गरे पनि पूरै कामदारले गाली खानुपरेको देख्दा अत्यन्त दुःख लाग्थ्यो, त्यो समय स्वदेश फर्केर केही गरौँ भन्ने हुन्थ्यो”, कृषक खनालले भने, “मैले होटलमा काम गर्थें, कोरोनाका कारण होटल बन्दभएपछि कम्पनीले घर पठाइदियो, मलाई पनि के खोज्छस् आँखो भनेजस्तै भयो ।”

उनले विदेशबाट फर्केपछि पाँच माउँबाट व्यावसायिक बाख्रापालन सुरु गरेको बताए । “यता बाख्रापालन व्यवसाय चलिरहेको थियो, कोरोना कहरको अन्तिमतिर कम्पनीले बोलायो”, उनले थपे, “भौतिक सुविधा मात्र ठूलो कुरा होइन, परिवारसँग रमाएर व्यवसायमा गर्नु पनि जीवन सुन्दर पक्ष हो भन्ने लागेर विदेश नगएर आफ्नो पेसालाई निरन्तरता दिएँ ।”

उनले स्थानीय खरी जातका बाख्रा, जमुनापारी क्रस, बोयर क्रस र सानन् क्रस बाख्रा पाल्दै आएको छ । फार्ममा अहिले साना ठूला करिब ७० वटा बाख्रा रहेका छन् । यहाँ उत्पादित बाख्रा स्थानीय बजारमा खपत हुँदै आएका छन् । कृषक खनालको व्यवसायबाट हाल १० जनाको परिवार पालिँदै आएको छ । “घरमा राजगारको गतिलो माध्यम छैन त्यसैले परिवारका सबै जना यही बाख्रापालन व्यवसायमा आश्रित हुनुपरेको छ”, उनले भने, “वार्षिकरुपमा तीन/चार लाख आम्दानी हुन्छ यसैबाट परिवारको गर्जो टरेको छ ।”

उनले हालसम्म जिल्ला भेटिनरीबाट खोर सुधार कार्यक्रमअन्तर्गत एक लाख र वालिङ नगरपालिका र युएनडिपीको संयुक्त पहलमा कोभिड–१९ प्रतिकार्य परियोजनाअन्तर्गत ५० हजार अनुदान पाएका छन्। कृषक खनालसँग स्टिल फिडिङ र एक आधुनिक खोर छ । उनले सुपरनेपियर, जैयाँ घाँस, मेन्डुला, राई खनियो, कोइरालोलगायतका घाँस पनि लगाएका छन् ।

उनले व्यवसायबाट आफूलाई सन्तुष्टि मिले पनि पहुँचका आधारमा अनुदान वितरण हुँदा दुःख लाग्ने गरेको बताए । “बन्द कोठामा कागज मिलाएर अनुदान खाने प्रचलनलाई निरुत्साहित गर्नुपर्छ”, उनले भने, “अनुदान र सुलभ दरको कर्जा वितरण गर्दा किसानको फार्ममै पुगेर अवलोकन गर्नुपर्छ, वास्तविक किसान हो भने मात्र राज्यले दिएका सुविधा दिनुपर्छ ।” उहाँले पशुपन्छीको निःशुल्क बीमा हुनुपर्ने र किसानले दावी गरेको बीमा रकमसमेत सहज तरिकाले नपाउने गरेको दुखेसो पोखे ।

उनलाई ३० वर्षीया श्रीमती चुना, ३२ वर्षीय भाइ खिनप्रसाद, ७६ वर्षीया आमा धनकुमारीले व्यवसायमा सहयोग गर्दै आएका छन् । उनले घाँस, बीउबिजन, उपचार, हेरचाहलगायतका तालिमको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरे । खनालले आफ्नो फार्मलाई अध्यन अवलोकनको थलो बनाउने उद्देश्यसहित काम अगाडि बढाएको दाबी गरे ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?