Trending
>>   विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी >>   यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन: प्रचण्ड >>   सरकार निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका तल्लीन छ : शङ्कर पोखरेल >>   काठमाडौंमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल >>   सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको छ : सञ्चारमन्त्री गुरुङ >>   भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने >>   करको सदुपयोग राष्ट्र समृद्धिको आधार : अर्थमन्त्री पौडेल >>   उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता >>   ‘कार्वन व्यापारलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’ >>   पहाडी भू-भागका एक-दूई स्थानमा वर्षा र तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने
Logo
१ मंसिर २०८१, शनिबार
१ मंसिर २०८१, शनिबार

‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव


५ ,भाद्र ,बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ ।

नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ ।

केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

“हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ”, उनले भने, “सङ्क्रमित पशुको उपचार भइरहेको छ ।”

खोपको उपलब्धताका लागि पहल भइरहेको उनको भनाइ छ । सङ्क्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।

“ज्वरो आउने, र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ”, भीमदत्त नगरपालिका–१३ का प्रमानन्द भट्टले भने, “यस्तै लक्षण देखिएपछि केही महिनाअघि रु ५० हजारमा किनेको भैँसी मर्यो, अहिले गोठ रित्तो छ ।”

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । दैनिक २०–२५ पशुचौपायामा सङ्क्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताए ।

उनका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको सङ्क्रमणका कारण दुई सय पशुचौपाया मरेका छन् । सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा सङ्क्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताए ।

गाईगोरुमा लम्पी स्किनको सङ्क्रमण देखिएसँगै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन् ।

“लम्पी स्किनको सङ्क्रमण गाउँमा फैलिएको छ, यो सङ्क्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाएँ”, बेदकोट नगरपालिकाका मनोज जोशीले भने, “बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ ।”

सङ्क्रमणविरुद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ । लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिईन् ।

“औषधोपचारबाट पनि धेरै सङ्क्रमित चौपाया निको भएका छन्, तर केही समय लाग्ने गरेको छ, औषधोपचारमा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले हामीले सङ्क्रमण देखिएको चौपायाको उपचार गर्ने कार्य गरिरहेका छौँ ।”


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?