Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने


२३ असार ,काठमाडौँ । मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ । केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ ।

बालकुमारी–दोभान खण्डमा हाल काठमाडौँतर्फ काम भइरहेको समितिका सूचना अधिकारी उद्वव नेपालले बताए । उनका अनुसार अहिले भूनिर्माण र नदीसँग सम्बन्धित काम सुरु भएको छ भने आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

हाल नदी किनारको पर्खाल उठाउने उठाउने काम भइरहेको तथा त्यसपछि पार्क र साइकलमार्ग निर्माण गरिने उनको भनाइ छ । मनोहरा करिडोरअन्तर्गत हालसम्म दोभानबाट बालकुमारी हुँदै नरेफाँटसम्मको सडक सम्पन्न भइसकेको छ ।

बालकुमारीदेखि जडीबुटीसम्मको सडक डिभिजन सडक कार्यालयले निर्माण गरेको थियो । नरेफाँटबाट लोकञ्थली जोड्ने पुल हुँदै पेप्सीकोलासम्म ट्रयाक खोल्ने काम अघि बढेको छ । पेप्सीकोलातर्फ कागेश्वरी मनोहरा नगरपालिका–७ र मध्यपुरठिमीतर्फ चारमा पर्ने ठाउँमा नदी व्यवस्थापनको काम शुरु गरिएको उनले बताए ।

नयाँ बानेश्वरबाट कोटेश्वर हुँदै भक्तपुरतर्फ जाने सडकको विकल्पका रुपमा यो करिडोर रहेको छ । बिजुलीबजार वा नयाँ बानेश्वरबाटै सवारीसाधन करिडोरतर्फ डाइभर्ट हुँदा जडीबुटीमा सवारीको चाप केही कम भएको छ ।

समितिले काठमाडौँ उपत्यकामा धोबीखोला बाहेकका सबै नदीमा काम गरिरहेको छ । समितिले नदी सफा गर्नेसँगै सडक, पुल र ढल निर्माणको काम एक साथ अघि बढाइएको छ । उपत्यकाका सबै नदीमा सुधारका कामसँगै करिडोर निर्माण समितिको कार्यक्षेत्रमा पर्छ ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?