Trending
>>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ?
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

बर्सेनि घट्दै रोपाइँको क्षेत्रफल


२२ असार, गण्डकी । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो ।

यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ । रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ ।

गत आवको तुलनामा यो वर्ष तीन दसमलव ७४ प्रतिशतले धान कम फलेको थियो । निर्देशनालयको तथ्याङ्क अनुसार चालु आवमा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसले रोपाइँ हुने क्षेत्रफलसँगै उत्पादन पनि घट्दै गएको देखाउँछ । वर्षे मात्र नभएर चेतै धान खेतीको क्षेत्रफल खुम्चिएको छ । प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धान खेतीको क्षेत्रफल घटेको हो । आव २०७७÷०७८ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धान खेती गरिएकामा अघिल्लो वर्षको हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए ।

उत्पादन पनि ३२ हजार सात सय ७३ मेट्रिक टनबाट घटेर २७ हजार चार सय ३७ मेट्रिक टनमा पुगेको थियो । वर्षदिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो । यो वर्षको चैते धान भने किसानले भित्र्याउन बाँकी छ ।

निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले वर्षे र चैते दुवै धानको उत्पादन र क्षेत्रफल बर्सेनि घट्दै गएको जानकारी दिइन् । खेतीयोग्य जग्गामा ‘प्लटिङ’, तीब्र बजारीकरण, ठूल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चदैँ गएको छ । पछिल्लो समय जग्गा बाँझिने क्रम पनि बढ्दो छ । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने गरेको कृषि प्रसार अधिकृत तिमिल्सिनाले बताइन् ।

“मल, उन्नत बीउबिजनको अभाव, प्रतिकुल मौसम जस्ता कारणले पनि उत्पादन घट्छ, मुख्य कारण रोपाइँ हुने क्षेत्रफल घट्दै जानु हो”, उनले भनिन् । बेलैमा मल, बीउ नपाउँदा पनि धान खेतीमा असर पर्ने गरेको किसान बताउँछन् । धानमा फूल खेल्ने समयमा बर्सात हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोककिरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधैँ चुनौती व्यहोर्दै आएका छन् ।

घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदै गएको छ । धानका पकेट क्षेत्रमा भौतिक विकास र बजारीकरण तीव्र छ । खेती गर्ने जमिनमा धमाधम घर ठड्याउने प्रवृत्तिले देशलाई खाद्यान्नमा झनझन परिनिर्भर बनाउँदै लाने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

उनले चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उल्लेख गरे । “चैते धान भित्र्याउने बेला बर्सातको याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भने, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।”

चैते धानमा ‘सिएच’ ४५, चैते २, चैते ६ लगायतका जातको खेती हुँदै आएको छ । बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन् । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्राउँछन् ।

प्रमुख भट्टराईले धान खेती जोगाउन खेतीयोग्य जमिनमा मनपरी रुपमा भइरहेको ‘प्लटिङ’ रोक्नुपर्ने बताए । उन्नत बीउबिजन, खेतीको सीप र प्रविधिमा राज्यले किसानलाई सघाउनुपर्ने उनको भनाइ थियो ।

कृषि प्रसार अधिकृत तिमिल्सिनाका अनुसार गण्डकी प्रदेशका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

यही असार १५ गतेसम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सो अवधिमा १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ गरिएको कृषि प्रसार अधिकृत तिमिल्सिनाले जानकारी दिनुभयो । मनसुन सक्रिय भएसँगै यतिबेला किसान रोपाइँको चटारोमा छन् । बाह्रैमास सिँचाइ सुविधा भएका, खोला आसपासका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो सुरु हुन्छ ।

गोरखाको छेवेटार, पालुङटार, लमजुङको धमिलीकुवा, हर्राबोट, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कास्कीको मकैखोला, हाडीखोला, पामे, लेखनाथ, पर्वतको फलेवास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायत धानका प्रमुख पकेट क्षेत्र हुन् ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?