Trending
>>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

जनसङ्ख्या वृद्धिदरमा रुपन्देही नेपालकै दोस्रो ठूलो जिल्ला


२१ असार ,भैरहवा । जनसङ्ख्या वृद्धिदरको दृष्टिले रुपन्देही जिल्ला नेपालकै दोस्रो ठूलो जिल्लामा रहेको छ । सबैभन्दा बढी भक्तपुर जिल्लामा जनसङ्ख्या वृद्धिदर रहेको र त्यसपछि क्रमशः रुपन्देही, चितवन, बाँके र झापा रहेका छन् । तथ्याङ्क कार्यालय कपिलवस्तुले बुधबार भैरहवामा रुपन्देही जिल्लाको नतिजा सार्वजानिक गर्दै रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको जानकारी दिएको छ ।

तथ्याङ्क कार्यालयका प्रमुख नन्दलाल कुर्मीका अनुसार सबैभन्दा बढी भक्तपुर जिल्लामा तीन दशमलव ३५ प्रतिशत वार्षिक जनसङ्ख्या वृद्धिदर रहेको छ । भक्तपुरमा २०६८ सालमा जनसङ्ख्या तीन लाख चार हजार छ सय ५१ रहेकोमा २०७८ मा चार लाख ३२ हजार एक सय ३२ पुगेको छ । रुपन्देही जिल्लामा २०६८ सालमा जनसङ्ख्या आठ लाख ८० हजार एक सय ९६ जना रहेकोमा २०७८ सालमा ११ लाख २१ हजार नौ सय ५७ पुगेको । विसं २०७८ को जनगणनाअनुसार रुपन्देही जिल्लाको दश वर्षको सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव ३३ प्रतिशत देखिन्छ ।

विसं २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव १७ प्रतिशत रहेको थियो । स्थानीय तहअनुसार सबैभन्दा बढी जनसङ्ख्या बुटवल उपमहानगर पालिकामा एक लाख ९४ हजार तीन सय ३५ (१७ दशमलव तीन प्रतिशत) र सबैभन्दा कम जनसङ्ख्या मर्चवारी गाउँपालिकामा ४० हजार आठ सय ८० (तीन दशमलव छ प्रतिशत) रहेको छ । यस्तै प्रतिवर्गकिलोमिटर जनघनत्व सबैभन्दा धेरै सिद्धार्थनगर नगर पालिकामा दुई हजार ६६ जना रहेको छ भने सबैभन्दा कम सैनामैना नगरपालिकामा चार सय ८३ जना रहेको छ ।

गत दश वर्षको अवधिमा सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ४९ दशमलव २६ प्रतिशतले र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा पाँच दशमलव ४३ प्रतिशतले जनसङ्ख्या थप भएको छ  । जनगणनाको नतिजाअनुसार रुपन्देही जिल्लामा जम्मा दुई लाख २७ हजार तीन सय ५१ घर संरचना रहेका छन् । यीमध्ये ८१ प्रतिशत आवासीय घर रहेका छन् । रुपन्देहीमा चार दशमलव दुई प्रतिशत घर खाली रहेको तथ्याङ्कले देखाएको छ । जिल्लामा कूल दुई लाख ३८ हजार तीन सय २० परिवार रहेकोमा तीमध्ये ६६ दशमलव नौ प्रतिशत परिवारमूली पुरुष र बाँकी ३३ दशमलव एक प्रतिशत परिवारमूली महिला रहेको कुर्मीले बताए ।

रुपन्देहीमा जनसङ्ख्याको पाँच वर्षको उमेर समूहअनुसार १५ देखि १९ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा बढी प्रतिशत (१० दशमलव छ प्रतिशत) रहेको छ । पुरुषको हकमा १५ देखि १९ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा धेरै पाँच दशमलव चार प्रतिशत र महिलातर्फ २० देखि २४ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा धेरै पाँच दशमलव तीन प्रतिशत व्यक्ति रहेका छन् । पन्ध्र वर्षमुनिका आश्रित जनसङ्ख्या जिल्लाको कूल जनसङ्ख्याको २७ दशमलव १३ प्रतिशत र ५९ वर्षभन्दा माथिका आश्रित जनसङ्ख्या आठ दशमलव ९४ प्रतिशत रहेको छ  ।

नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य उमेर समूह (१६ वर्ष वा सोभन्दा माथि) का जनसङ्ख्या कूल जनसङ्ख्याको ७० दशमलव ८४ प्रतिशत रहेको छ । क्रियाशील श्रमशक्तिसँग सम्बन्धित उमेर समूहअर्थात् १५ देखि ५९ वर्ष उमेरका व्यक्ति ६३ दशमलव ९४ प्रतिशत छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सम्भाव्य ६८ वर्ष वा सोभन्दा माथिका जनसङ्ख्या चार दशमलव ४८ प्रतिशत रहेका छन् । रुपन्देही जिल्लाको साक्षरतादर ८१ दशमलव २३ प्रतिशत रहेको छ ।

पुरुषको साक्षरता दर ८८ दशमलव चार प्रतिशत र महिलाको साक्षरता दर ७४ दशमलव चार प्रतिशत रहेको छ । विसं २०६८ को जनगणनामा कूल साक्षरता दर ६९ दशमलव ७८ प्रतिशत, पुरुषको साक्षरता दर ७९ दशमलव २२ प्रतिशत र महिलाको साक्षरता दर ६० दशमलव ७९ प्रतिशत रहेको थियो । स्थानीय तहमा बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै ९१ दशमलव ३१ प्रतिशत साक्षरता दर रहेको छ भने सबैभन्दा कम मर्चवारी गाउँपालिकामा ६८ दशमलव ६९ प्रतिशत साक्षरता दर रहेको छ ।

जनगणनामा रुपन्देही जिल्लामा कूल एक लाख १३ हजार दुई सय ६२ जना बालबालिकामध्ये ६३ दशमलव नौ प्रतिशतले जन्मदर्ता गरेका छन् भने ३६ दशमलव एक प्रतिशतले जन्मदर्ता गरेका छैनन् । स्थानीय तहमा सबैभन्दा बढी कञ्चन गाउँपालिकामा ७१ दशमलव चार प्रतिशत र सबैभन्दा कम कोटहीमाई गाउँपालिकामा ५६ प्रतिशतले मात्र जन्म दर्ता गरेका छन् । रूपन्देही जिल्लामा पहिलाको तुलनामा पहाडी ब्राह्मणको जनसङ्ख्या बढेको तथ्याङ्कमा उल्लेख छ । विसं २०६८ मा कूल जनसङ्ख्याको १५ दशमलव नौ प्रतिशत रहेको पहाडी ब्राह्मणको जनसङ्ख्या २०७८ मा बढेर १६ दशमलव आठ प्रतिशत पुगेको छ ।

यस्तै मगर जाति १० दशमलव सात प्रतिशतबाट थोरै बढेर १० दशमलव नौ पुगेको छ । थारु, मुसलमान, यादवलगायतको जनसङ्ख्या घटेको तथ्याङ्कबाट देखिन्छ । जिल्लामा थारुको जनसङ्ख्या २०६८ मा रहेको नौ दशमलव छ प्रतिशतबाट घटेर हाल आठ दशमलव दुई प्रतिशत पुगेको छ । यस्तै मुसलमान आठ दशमलव दुई प्रतिशतबाट घटेर सात दशमलव सात प्रतिशत र यादवको जनसङ्ख्या सात दशमलव चार प्रतिशतबाट घटेर छ दशमलव सात प्रतिशत पुगेको तथ्याङ्क कार्यालयका प्रमुख कुर्मीले बताउनुभयो । उहाका अनुसार रूपन्देहीमा कसल एक सय जातजातिको बसोबास रहेको छ ।

जिल्लामा नेपाली मातृभाषीको सङ्ख्या पनि पहिलेभन्दा अहिले बढेको छ । नेपाली मातृभाषा भएको जनसङ्ख्या २०६८ सालमा ३६ दशमलव नौ प्रतिशत रहेकोमा अहिले बढेर ४२ दशमलव छ प्रतिशत पुगेको छ । भोजपुरी मातृभाषा रहेका भने घटेको तथ्याङ्कमा उल्लेख छ । ३६ दशमलव छ प्रतिशत भोजपुरी मातृभाषीहरू अहिले घटेर ३१ दशमलव आठ प्रतिशत पुगेका छन् ।

यस्तै अवधि भाषी छ दशमलव चारबाट बढेर १० दशमलव एक प्रतिशतमा पुगेका छन । रूपन्देहीमा कूल ४१ मातृभाषा बोलिने गरेको तथ्याङ्कले देखाएको छ । रूपन्देहीमा २०६८ सालमा ८६ दशमलव दुई प्रतिशत हिन्दू धर्म मान्ने जनसङ्ख्या रहेकोमा २०७८ सालमा थोरै बढेर ८७ प्रतिशत पुगेको छ । यस्तै बौद्ध धर्म मान्ने चार दशमलव छ प्रतिशतबाट घटेर तीन दशमलव आठ प्रतिशत र इस्लाम धर्म मान्ने आठ दशमलव दुई प्रतिशतबाट झरेर आठ दशमलव एक प्रतिशतमा पुगेको छ ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?