Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै


१६ असार ,गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ ।

बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै विषयसँग सम्बन्धित रहेका कारण विश्वभरि चिनिएको छ । बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।

लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान् शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति, घन्टा यहाँका मुख्य आकर्षण हुन् ।

पछिल्लो समययता गलेश्वरमा भारतीय धार्मिक पर्यटकको पनि सङ्ख्या वृद्धि हुन थालेको छ । कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गमस्थलमा रहेको गलेश्वर धाममा अहिले उद्यानसहित आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारसमेत निर्माण भएकाले यस्तो पावन धार्मिकस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । “गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अपनाइ समन्वय र पहल गर्दैछौँ”, नगरप्रमुख केसीले भने ।

विश्व सम्पदामा सूचीकृत गर्न नगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको उनले बताए । “गलेश्वर धाम धार्मिक हिसाबले महत्वपूर्णस्थल हो । गलेश्वर पवित्र नदी कालीगण्डकी र रघुगङ्गाका सङ्गमस्थलमा छ । गलेश्वरलाई मुक्तिनाथ प्रवेशद्वारका रुपमा पनि लिने गरिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत गरेर गलेश्वर क्षेत्रको धार्मिक महत्वको प्रचारप्रसार र संरक्षण गर्ने हाम्रो योजना छ”, उनले भने ।

गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ । उन्नाइसौँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको भनाइ छ ।


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?