Trending
>>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती


राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनका क्रममा १७ स्थानमा कैफियत भेटिएको हो । बजार अनुगमनका क्रममा माघ १५ गतेसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न छ स्थानमा भएको अनुगमनबाट १७ वटा पसलमा अन्तःशुल्क नतिरेका मदिरा र सुर्तीजन्य वस्तु देखिएको हो । आन्तरिक राजस्व विभागका अनुसार चोरीपैठारी गरेर नक्कली अन्तःशुल्क टिकट प्रयोग नभएका करिब रु १८ लाख बराबरको सामान बरामद भएको छ । त्यस्ता कसुरमा संलग्न केही व्यक्तिलाई हिरासतमा लिई थप अनुसन्धानसमेत भइरहेको विभागले जनाएको छ ।

यस वर्ष सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन । अन्तःशुल्कजन्य वस्तु अवैध रुपमा भित्रिएर राजस्व छली हुँदा कम असुली भएको हुनसक्ने शङ्का लागेपछि अनुगमन बढाइएको आन्तरिक राजस्व विभागले जनाएको छ । “अन्तःशुल्क लक्ष्यअनुसार उठ्न नसक्नुमा बजार अनुगमन प्रभावकारी रुपमा हुन नसकेको हो कि भन्ने प्रश्न थियो । पछिल्लो १५ दिनमा विभिन्न १७ ठाउँमा अन्तःशुल्क छली गरेका सामान भेटिएका छन्”, विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले भन्नुभयो । विभागका अनुसार आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट भएको अनुगमनमा रुद्र कोल्ड सेन्टर, झरना कोल्ड स्टोर्स, हिमाली कोल्ड सेन्टर, पुरी किराना पसल, स्तभ्य स्टोर्स र पुरी किराना पसलबाट अवैध अन्तःशुल्कजन्य वस्तु जफत भएका छन् । रुद्र कोल्ड सेन्टर र झरना कोल्ड स्टोर्समा अवैध रुपमा नेपाल भित्रिएको ‘सिक्किमे रम भेटिएको थियो । रुद्र कोल्ड सेन्टरका सञ्चालक रुद्रबहादुर विष्ट र झरना कोल्ड स्टोर्सका सञ्चालक महेन्द्र बर्देवालाई गिरफ्तार गरी अनुसन्धान कार्य अघि बढाएको छ । त्यस्तै, सिक्किमे रम भेटिएको अर्को पसल हिमाली कोल्ड सेन्टरका सञ्चालक धनकुमार थुलुङलाई पनि गिरफ्तार गरी अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । भद्रपुरकै पुरी किराना पसलमा एक सय ८० किलो सुर्ती र केही बिँडी बरामद भएपछि सञ्चालक गङ्गाप्रसाद पुरी र स्तभ्य स्टोर्समा ५५ किलो खैनी भेटिएपछि सञ्चालक भुवन कार्कीलाई गिरफ्तार गरिएको छ । करदाता सेवा कार्यालय फिदिमले गरेको अनुगमनमा दीपा एन्ड पवन स्टोर्समा ‘सिक्किमे गोल्डेन ब्रान्ड’को मदिरा जफत गरेको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालय दमकले अनुगमनका क्रममा जवानी कोल्ड स्टोर्स सेन्टर र अपेक्षा कोल्ड स्टोर्समा भारतीय ब्रान्डका अवैध मदिरा भेटाएको छ । त्यस्तै, दमककै सोमिया सप्लायर्सबाट बिल बीजक नरहेका भारतीय ब्रान्डका दूधबाट बनेका अन्तःशुल्कजन्य वस्तु बरामद भएका छन् ।

आन्तरिक राजस्व कार्यालय महाराजगञ्जले गरेको अनुगमनमा जिउ हिउ स्याङ होटल एन्ड रेस्टुरेन्ट प्रालिमा १६ बोतल चिनियाँ अवैध मदिरा भेटिएको छ । उक्त मरिदाको बिल बीजक नरहेको र अन्तःशुल्क स्टिकर नटाँसिएको जनाइएको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालय ललितपुरले हान युयान कल्चर फुडमा पनि चिनियाँ मदिरा भेटेको थियो । आन्तरिक राजस्व कार्यालय पोखराको अनुगमनबाट म्याग्दी प्रोभिजन सपमा विभिन्न विदेशी ब्रान्डका मदिरा कारोबारका लागि अनुमति नै नलिईकन कारोबार गरेको भेटिएको छ । त्यस्तै, पोखराकै क्याप्टेन बास्तोला वाइन शपमा पनि अन्तःशुल्क स्टिकर नटाँसिएको भारतीय मदिरा जफत भएको थियो । पञ्चकोसी वाइन हाउसमा सुपर पावर ब्रान्डको स्टिकर टाँस नभएको सुर्ती र रोयल स्टाग ब्रान्डको मदिरा भेटिएको र सनिस वाइन हाउसमा पनि रोयल स्टाग ब्रान्डको मरिदामा स्टिकर टाँस नभएको देखिएको विभागले जनाएको छ ।


प्रकाशित मिति: १६ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?