Trending
>>   जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ >>   सञ्चारमन्त्रीको टिप्पणीः नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन् >>   सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो >>   अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ >>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

ऐतिहासिक जितको लक्ष्यसहित आज वेस्ट इन्डिजसँग खेल्दै नेपाली क्रिकेट टोली


७ असार, काठमाडाैँ । जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजको सामना गर्दैछ । हरारे स्पोर्टस् क्लबको मैदानमा दिउँसो १२:४५ बजे सुरु हुने खेलमा नेपाल जितको लय जारी राख्ने लक्ष्यमा छ ।

वेस्ट इन्डिज नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । दुई पटक एक दिवसीय र टी–२० विश्वकप च्याम्पियन बनिसकेको वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले यसअघि वेस्ट इन्डिजसँग कुनै प्रतियोगिता खेल्ने अवसर पाएको थिएन । त्यसैले नेपालका लागि बिहीबारको खेल बलियो टोलीसँगको अग्निपरीक्षा हुनेछ ।

वेस्ट इन्डिजले आइसिसी एक दिवसीय विश्वकपको पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । सन् १९७५ मा इङ्ल्यान्डमा भएको पहिलो संस्करणको फाइनलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई हराएको थियो ।

यस्तै इङ्ल्यान्डमै सन् १९७९ मा आयोजना भएको दोस्रो संस्करणको फाइनलमा वेस्ट इन्डिजले आयोजक इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै उपाधि जितेको थियो । यस्तै वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।

कमजोर बलिङका कारण पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै सुपर सिक्समा पुग्ने छनक देखाएको छ । वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा पनि जितको लय कायम राख्न सके नेपालको सुपर सिक्स पुग्ने सम्भावना बलियो बन्नेछ ।

वेस्ट इन्डिज पनि नेपालाई हराएर जितको लय कायम राख्ने योजनामा छ । समूहको पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो ।नेपालले समूह ‘ए’ को अन्तिम खेलमा असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।


प्रकाशित मिति: ७ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?