Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अध्यापनसँगै तरकारी खेतीबाट मनग्य कमाइरहेका धनवीरसिंह


२ असार, बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्।

उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्छ।

गाउँमा उनी ‘नमूना कृषक’का नामले पनि चिनिन्छन्। साउँद तीन वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेका छन्। तरकारी खेतीबाट उनी वार्षिक चार लाख रूपैयाँसम्म कमाउँछन्।

साउँदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले मन नलोभ्याउने शायदै होलान्।

आफूले पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस निर्माण गरी गोलभेँडा र बन्दासँगै बोडी, अदुवा, बेसारखेती पनि गर्दै आएको साउँद बताउँछन्। ‘गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजनका साथै प्राविधिक सहयोग गरिदिँदा सहज भएको छ,’ उनले भने।

साउदको परिवारमा पाँच जना छन्। जागिरबाट आउने पैसाले घर चलाउनै मुस्किल परेपछि उनी तरकारी खेतिमा पनि लागेका हुन्। तरकारी खेतीबाट जीवन निर्वाह सहज हुन थालेपछि अहिले छोरालाई स्नातक पढाउन काठमाडौं पठाएका छन्।

तरकारी खेतीबाट मनग्य आम्दानी भएको देखेपछि आफूले पनि तरकारी खेती सुरु गरेको उनको भनाइ छ।

‘गाउँका अन्य किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकाले मलाई पनि तरकारी खेतीमा लाग्न मन लाग्यो । आर्थिक अवस्था कमजोर भएकाले तलबले सबै आवश्यकता पूरा हुन नसकेपछि तरकारी खेती थाले । अहिले राम्रै भएको छ,’ उनले भने।

तर, सिँचाइ सुविधा पर्याप्त नहुँदा, बजारको अभाव र यातायात सेवा सहज नहुँदा बजारीकरणमा समस्या हुने उनले बताए।

‘सिचाइँ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता छ, खानेपानी रातिको समयमा सङ्कलन गर्न ट्याङ्की छैन,’ उनले भने।

सडक विस्तार नभएकाले उत्पादित तरकारी डोकोमा बोकेर सुल्लेखानसम्म पुर्‍याउनुपर्ने उनले सुनाए। डोकोमा बोकेर बजार लगिएको तरकारी बिकेन भने बोकेरै फिर्ता ल्याउनुपर्छ।

‘मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुँदैन,’ उनले भने।

शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भए पनि बर्सातको समयमा उक्त क्षेत्रमा सडक अवरुद्ध हुन्छ।

तरकारी खेती आबद्ध किसानलाई व्यवसायिक खेतीका लागि आवश्यक सहयोग गरिँदै आएको शिवनाथ गाउँपालिका कृषि शाखा प्रमुख, कृषि अधिकृत ज्योति नायकले बताए।

‘यो वर्ष पालिकाभित्रका दुई सय ६५ किसानलाई ८० प्रतिशन अनुदानमा बीउबिजन, बाली संरक्षणका दुई सय ९९ लाई निःशुल्क विषादी दिएका छौँ,’ उनले भने, ‘९० प्रतिशत अनुदानका लागि ८८ कृषकको पोलिहाउसका लागि निवेदन सङ्कलन भएको छ।’

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यावसायिक किसानलाई अनुदान सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। उनले भने,’कृषि क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो । व्यावसायिक किसानलाई व्यवसायिक कृषिमा आबद्ध गराउने उद्देश्यले सहयोग गर्दै आएका छौँ।’

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषकका लागि ‘एकघर एक पोलिहाउस’, कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउँदले जानकारी दिए।

गाउँपालिकाभित्र सिँचाइ सुविधा नभएको स्थानमा सिँचाइ, सडक नभएका ठाउँमा सडक सुविधा क्रमशः विस्तार गरिँदै लगिने उनको भनाइ थियो।


प्रकाशित मिति: २ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?