Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

इनार सुक्न थालेपछि खानेपानीको समस्या


२५ जेठ, दाङ । पछिल्लो समय बढे्को अत्यधिक गर्मीका कारण दाङका इनार सुक्न थालेपछि पानीको समस्या भएको छ । गाउँमा पानीको मुख्य स्रोत इनार, कुवा रहेकामा गर्मीका कारण इनार र कुवामा पानी सुक्न थालेको छ ।

“जेठको पहिलो सातादेखि नै धाराबाट खानेपानी झर्न छाडेको छ”, घोराही–९ की मदा गौतमले भने, “यस वर्ष खानेपानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकूल भइएला जस्तो छ ।” उनका अनुसार गाउँका धेरैजसोका इनार सुकेका छन् ।

रातभरी इनारमा जम्मा भएको चार, पाँच गाग्र्री पानी गाईवस्तुका साथै मानिसका लागि पुराउनुपर्ने बाध्यता रहेको गौतमको भनाइ छ । “वडा नं ६, ८, ९ र १० मा पानीको मुख्य स्रोत धारा, इनार र कुवा हुन् । अहिले सबै स्रोत सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको छ”, उनले भने । वैशाख मध्यपछि पानीका मुहान सुक्दै गएका भन्दै जेठ लागेपछि पानीको समस्या झन बढे्को उनले बताए ।

तराईमा वैशाख, जेठलाई अत्यधिक गर्मी हुने समयका रूपमा लिइन्छ । हरेक वर्ष यस समयमा पानीको समस्या हुने गरेको भए पनि यस वर्ष भने पानीको समस्या जटिल बन्ने सङ्केत देखिएको यहाँका स्थानीय बताउँछन् । इनार एकपछि अर्को सुक्दै गएका छन् ।

तल्लो भेगका बस्तीमा खानेपानीका लागि प्रयोग हुँदै आएका पानीका स्रोत सुकेर समस्या बढेको घोराही–७ सौडियारकी सुदा शर्माले बताए । “यहाँ १० वर्ष पहिलेका इनार सबै सुकीसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न नसकिने अवस्थामा पुगेका छन्”, उनले भने, “बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा खानेपानीको समस्या झनझन बढ्दै गएको छ ।” लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुक्न थालेपछि नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको शर्माले बताए । उनका अनुसार यसपाली हिउँदे वर्षा नहुँदा पानीका मुहान सुकेका हुन् ।

खानेपानीका लागि अन्य विकल्प नभएका कारण पानीको समस्या भएको स्थानीयको भनाइ छ । हिउँदे वर्षा नहुँदा खानेपानीका साथै खेती गर्न समेत नपाइएकामा स्थानीय चिन्तित छन् । सुक्खायाममा खेतीका लागि सिँचाइका साथै खानेपानीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्बद्ध पक्ष सधैँ उदासिन रहँदै आएकाले यहाँका स्थानीयले सधै पानीको समस्या झेल्नु परेको शर्माको भनाइ थियो ।

घोराही उपमहानगरपालिकामा १८ हजार ५३ परिवार अझै कुवाको भरमा छन । तुलसीपुर उपमहानगरपालिकामा कुवा र खोलाकै पानीको भरमा १७ हजार चार सय ५४ परिवार छन् । लमही नगरपालिकामा रहेका १३ हजार चार सय ५८ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाको पानीको भरमा छ हजार तीन सय ८४ परिवार छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?