Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास


२४ जेठ, एजेन्सी । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो ।

चिनियाँ मध्यस्थतामा तेहरान र रियादबीच भएको पछिल्लो सम्झौताअन्तर्गत वर्षौंदेखिको द्वन्द्व अन्त्य गर्न सहमत भएको केही महिनापछि मङ्गलबार साउदी अरबको राजधानी रियादमा इरानको दूतावास पुनः सञ्चालन भएको छ । सातवर्षको इरानी दूतावास रियादमा खुलेको हो ।

राजदूतावास उद्घाटन समारोहलाई रियादमा सम्बोधन गर्दै इरानका उपविदेशमन्त्री अलिरेजा बिग्देलीले साउदी अरब र इरानबीचको सम्बन्धका विविध आयामको चर्चा गरे । उनले साउदी अरबमा इरानको झण्डा पुनः फहराएपछि दुई देशबीचको सहकार्य नयाँ युगमा प्रवेश गरेको बताए ।

आपसी समझदारी, स्थायित्व र शान्तिका निम्ति राष्ट्र–राष्ट्रबीचको सञ्चार र संवादका लागि कूटनीति नै उत्तम माध्यम भएको उपविदेशमन्त्री बिग्देलीले बताए । उनले असल छिमेकीको सिद्धान्तका आधारमा छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्न इरान सधैं इच्छुक रहेको बताए । आर्थिक सम्बन्ध र आपसी लगानी प्रवद्र्धनले क्षेत्रीय शान्ति र स्थायित्व हासिल गर्न मद्दत पुग्ने तर्क उनले गरे ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीका अनुसार जेद्दास्थित इरानको महावाणिज्य दूतावास र इस्लामिक सहयोग सङ्गठनको सम्पर्क कार्यालय पनि एक दिन पछि फेरि सञ्चालनमा आउनेछ । खाडी राष्ट्रका क्षेत्रीय प्रतिद्वन्द्वी इरान र साउदी अरब बीच गत मार्चमा आपसी सम्बन्ध पुनः स्थापना गर्न सहमत भएपछि मध्यपूर्वको स्थायित्व र सुरक्षामा देखिएको अनिश्चय हट्नाका साथै त्यसबाट यमनदेखि सिरियासम्म क्षेत्रीय द्वन्द्वलाई कम गर्न मद्दत मिलेको थियो ।

चीनको बेइजिङमा दुई देशबीच कूटनीतिक सम्बन्ध पुनः नवीकरण गर्न र आफ्ना दूतावास एवम् कूटनीतिक नियोग पुनः खोल्ने सम्झौता भएको थियो । चीन, साउदी अरब र इरानद्वारा संयुक्त रूपमा जारी गरिएको त्रिपक्षीय विज्ञप्तिअनुसार साउदी र इरानले संयुक्त राष्ट्र सङ्घको वडापत्रका सिद्धान्त र उद्देश्यहरूको पालना गर्दै वार्ता र कूटनीतिको माध्यमबाट आफ्ना असहमतिहरूलाई समाधान गर्न सहमति जनाएका थिए ।


प्रकाशित मिति: २४ जेष्ठ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?