Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’


३० वैशाख ,वालिङ । सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखेको फल लाग्ने चार वटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उनमा थिएन । जब ती चार वटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो तब उनले हाँगा काट्दै नर्सरी गरी बेर्ना उत्पादनमा जोड दिए।

सुरुमा लगाइएका चार वटा बेर्नाले उनलाई व्यावसायिक बन्नमा महत्वपूर्ण भूमिका खेल्यो । “कस्तो हुनेरैछ भन्ने कौतुहलता जागेर बेर्ना लिएर आएँ, बेर्ना सारेको केही वर्षपछि फल दिन सुरु भयो”, उनले भने, “फल लाग्न थालेपछि छुट्टै ऊर्जा मिल्यो र त्यहीँबाट बेर्ना उत्पादन गर्दै व्यावसायिकरुपमा ड्रागन खेतीको विस्तार गरेँ ।”

दिउँसोको समयमा संस्थागत विद्यालयमा अध्यापनरत उहाँले विशेष गरी बिहान, साँझ वा बिदाका दिनमा ड्रागन खेतीको विस्तारमा ध्यान दिए । “अन्नबाली उब्जाउ हुँदै आएको जमिनमा सुरुका दिनमा धान, गहुँ, मकैलगायतका खाद्यान्न बाली नलगाई ड्रागन लगाउन चुनौती थियो”, उनले भने, “जब राम्रो हुँदै गयो तब ड्रागन खेती पनि विस्तार हुँदै गयो ।”

पन्ध्र वर्षअघि घरमा परीक्षण गर्न ल्याइएको बेर्नाबाट उत्पादन राम्रो हुँदै गएपछि बर्सेनि आफैले बेर्ना उत्पादन गर्दै लगाउँदै गएको उनि बताउछन् । सुन्तला उत्पादन हुन्छ कि भन्ने लागेर केही वर्ष सुन्तलाका बोट लगाइएको थियो । सुन्तलाका बोट ठाडै मरेपछि माटो परीक्षण गर्दा ड्रागन उपयुक्त हुन्छ भन्ने कृषि विज्ञसँगको परामर्शपछि ड्रागन खेती थालिएको उनले बताए ।

“परीक्षणका लागि ल्याइएको चार वटा बेर्नाले व्यवसायी बनाउँछ भन्ने लागेको थिएन”, उनले भने, “धान, मकै, गहुँजस्ता खाद्यान्न बालीबाट भन्दा यसबाट आम्दानी धेरै हुने गरेकाले यसतर्फ आकर्षित भएको हुँ ।”

चार रोपनी क्षेत्रफलमा ड्रागन खेती गरेर व्यावसायिक उत्पादन थालेका रानाले गत वर्ष रु ६० हजार आम्दानी गरेका थिए । गत वर्ष आफन्त, घरमा आएका पाहुनालगायत छर छिमेकमा बाँडेर रहेको बिक्री गर्दा उक्त आम्दानी भएको उनि बताउछन् । आफैँले उत्पादन गरेका बेर्ना बर्सेनि थप गर्दै जाँदा अहिले उहाँसँग १३ रोपनी क्षेत्रफलमा पाँच हजार बेर्ना रहेका छन् ।

आगामी वर्षमा पनि करिब दुई हजार पाँच सय बिरुवाले उत्पादन दिने उनको अनुमान छ । त्यसबाट राम्रै आम्दानी हुने अपेक्षा छ । करिब दुई वर्षपछि सबै बोटले फल दिन थाल्ने भएकाले उत्पादन तीन दोब्बरले वृद्धि हुने उनि दाबी गर्नुहुन्छ । “सबै बोटले फल दिँदा एक सिजनमा रु १२ देखि १५ लाख आम्दानी हुन्छ”, उनले भने, “अहिले प्रतिकेजी रु छ सयका दरले बिक्री हुँदै आएको छ ।”

यहाँ उत्पादन भएको ड्रागन स्थानीय बजार तथा पोखराका बजारमा सहजरुपमा बिक्री भइरहेको छ । अहिले उत्पादनभन्दा बजारमा यसको माग धेरै रहेकाले मागअनुसार पुर्याउन नसकिएको उनले बताए । उहाँले ड्रागन खेतीसँगै मिश्रित बालीको रुपमा अकबरे खुर्सानी, कुरिलो, बन्दा, बदाम, गाँजरलगायतका तरकारी बाली लगाएका छन् ।

उत्पादन राम्रो हुनुका साथै बजारमा माग बढ्दै गएकाले क्षेत्र विस्तार गर्ने तयारीमा रहेको उनको भनाइ थियो । “परम्परागतरुपमा गरिँदै आएको खेती प्रणालीबाट फाइदा हुन्छजस्तो मलाई नलागेकाले धान, मकै, गहुँको साटो व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उनले भने ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?