Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एउटै गाउँमा तरकारी खेतीबाट दुई करोड बढी आम्दानी


२४ वैशाख, पर्वत। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् ।

तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट यो गाउँमा बर्सेनि करिब रु डेढदेखि रु दुई करोडभन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताए ।

उनले भने, “तरकारी खेती यहाँका कृषकको जीवन नै बनिसकेको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश गएका युवा पनि गाउँ फर्किएर खेती गर्न थालेका छन् ।” उहाँका अनुसार यहाँका कृषकले वार्षिकरूपमा कम्तीमा रु दुई लाखदेखि रु १० लाखसम्म तरकारी खेतीबाट आम्दानी गर्दै आएका छन् । गाउँका एक सय घरपरिवार व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । ताजा तरकारी र बीउबिजन बिक्रीबाट प्राप्त भएको आम्दानीले यहाँका कृषकले सहरबजारमा घरघडेरीसमेत जोडेका छन् ।

विगत २७ वर्षदेखि निरन्तररूपमा ताजा तरकारी र बीउ उत्पादन गर्दै आउनुभएका गाउँका अगुवा कृषक पौडेले भने, “तरकारी खेतीले विदेश पुगेका युवाहरूलाई पनि गाउँ फर्काएको छ । तरकारी खेतीले गाउँनै समृद्धि बनेको छ ।” उत्पादन भएको ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, बागलुङ र पर्वतको सदरमुकाम कुस्मासम्म पुग्ने उनले बताए ।

परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने कृषक बलराम आचार्यले बताए । “उत्पादन भएको तरकारी बिक्रीका लागि कुनै समस्या छैन”, उनले भने, ‘‘गाउँमै सडक आएको छ । पहिलाजस्तो डोकामा बोकेर लैजान पर्दैन । उत्पादन गर्नसके घरमै बसीबसी फोनका आधारमा तरकारी बिक्री गर्न सकिन्छ । बेमौसमी तरकारी उत्पादन गर्नसके बेनीका व्यापारी फाँटमै गाडी लिएर आउँछन् ।”

तरकारी खेतीको आम्दानीले यहाँका कृषकको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याइदिएको युवा कृषक अर्जुन पौडेलले बताए । “आफ्नै माटोमा परिश्रम गर्दा गौरवको अनुभूति हुन्छ”, कृषक पौडेलले भने, “परिश्रम गर्नसके तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” सल्यानका साथै बास्कोट, धरापानी र घायखेत तरकारी खेतीका लागि परिचित गाउँ हुन् ।

स्थानीय सरकारले कृषकलाई थप व्यावसायिक बनाई उत्पादन बढाउन तालिम र प्रविधिमा सहयोग गर्दैै आएको छ । तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिएको सल्यानमा कृषि ज्ञान केन्द्र पर्वतले मल, बीउ र प्रविधिमा सहयोग गर्दै आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् ।


प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?