काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी भ्रामक प्रचार गर्ने प्रवृत्ति रोक्न कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
उनले एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन वाटरमार्क अनिवार्य गर्नुपर्ने र दुरुपयोग गर्नेलाई कडा जरिवानाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् । शुक्रवार ललितपुरमा सरोकारवालाहरुसँग निर्वाचन आयोगको छलफल कार्यक्रममा बोल्दै उनले एआईलाई कानूनी दायरामा ल्याउँदै यसको नियमन आवश्यक रहेको बताएका छन् । उनले एआई टुल्सको प्रयोगमार्फत अनुसन्धान केन्द्र र प्रयोगशालाबाट गलत तथा भ्रामक सामग्री पहिचान गर्ने प्रणाली विकास गर्नुपर्ने उल्लेख गरेका छन् । एआईबाट सिर्जना गरिएका सामग्रीमा एआईको भूमिका कस्तो छ भन्ने पहिचान गर्न नमूना परीक्षणसमेत गर्नुपर्ने उनको भनाइ छ ।
पोखरेलले डिजिटल शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने बताए । उनले बेलायतजस्ता विकसित देशमा पूर्वप्राथमिक तहदेखि नै डिजिटल शिक्षा दिन थालिएको उल्लेख गर्दै यसको प्रभावकारी नियमन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपालले पनि अध्ययन गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन व्यवस्थापनको विकेन्द्रीकरण पनि अहिलेको निर्वाचन रणनीतिमा समेटिएको जानकारी दिएका छन् ।
उनले भने, ‘निर्वाचनमा पनि एआईको दुरुपयोग गरी हुने प्रचारको चुनौति छ । एआईलाई अब कानूनी रुपमा व्यवस्थित गर्दै लैजानुपर्छ । वाटर मार्कहरु सबै राख्नेदेखि, हेभी पेनाल्टी गर्ने व्यवस्था गर्नुपर्छ । एआई टुल्सलाई समेत प्रयोग गरेर रिसर्च सेन्टरहरु, ल्यावहरुबाट कस्ता सामान गलत हुन् भनेर पहिचान गर्ने, त्यसभित्रमा पनि एआईको के रोल छ भन्नेगरी उनीहरुको एउटा स्याम्पल हेरेर प्रयोग गर्नुपर्छ । कतिपय देशहरुले सम्पन्न देशले इंग्ल्याण्डले प्रि स्कुलदेखि नै डिजिटल एजुकेसन दिन थालेको छ । यसलाई कसरी नियमन गर्न सकिन्छ, यसबारे हामीले खोज्नुपर्छ । निर्वाचन व्यवस्थापनको विकेन्द्रीकरण अहिलेको रणनीतिमा पनि छ ।’
उनले निर्वाचन शिक्षालाई अझै विस्तार गर्दै लैजानुपर्ने बताए । निर्वाचन सुरक्षाको काम सुरक्षा निकाय र राजनीतिक दलहरुले नै लिनुपर्ने उनको भनाइ छ । संघीय, प्रदेश र स्थानीय तहबाटै खर्च व्यवस्थापन गर्नेगरी अघि बढ्नुपर्ने पनि बताएका छन् ।
प्रकाशित मिति: ११ मंसिर २०८३, शुक्रबार