काठमाडौं।नेपाल प्रिमियर लिगका लगातार दोस्रो हारपछि पोखरा एभेन्जर्सका विपिन खत्रीले राम्रो साझेदारी हुन नसक्दा हार व्यहोरेको बताएका छन् ।
जनकपुर बोल्ट्ससँग हारपछि पत्रकार सम्मेलनमा विपिनले ब्याटिङमा साझेदारी गर्न नसक्नु र पावरप्लेमा राम्रो खेल्न नसक्दा हार व्यहोरेको बताएका हुन् । ब्याटिङमा पनि विदेशी खेलाडीले पनि सोचेअनुरूप नतिजा दिन नसक्दा समस्या भएको उनको भनाइ छ । अर्जुन कुमालले टिममा अवसर पाउन धैर्यता गर्नुपर्ने उनको भनाइ छ । प्रतियोगिता लामो रहेकाले उनले अवसर पाउन सक्ने उनी बताउँछन् । पावरप्लेमा राम्रो रन बने पनि अप्रत्यशित रूपमा विकेट गुम्दा समस्या भएको विपिनले उल्लेख गरे । बलिङमा राम्रो नै गरेको उनी बताउँछन् । सागर ढकाल जस्तो खेलाडीको अभाव खड्किएको विपिनले स्वीकार गरे । अन्य खेलमा फर्कन सक्ने उनको आशा छ । तथापि, आफूले पनि आशा गरेअनुरूप खेल्न नसकेको विपिन बताउँछन् ।
पोखराका पूर्व खेलाडी अभिशेक तिवारी, जिमी निसम र तृतराज दासले जनकपुरबाट राम्रो खेलेको भन्दै उनले प्रंशसा पनि गरे ।खेलमा प्लेअर अफ दी म्याच जनकपुरका तृतराजले मोइन अली जस्तो खेलाडीसँग खेल्न पाउनु आफ्ना लागि खुशीको क्षण रहेको बताए । अली आफूसँग साथमा हुँदा प्रेसर नलिएको र त्यसले खेल्न मद्दत मिलेको उनी बताउँछन् । तर ठूला खेलाडी साथमा हुँदा आफूले पनि राम्रो गनुपर्ने तृतराजले उल्लेख गरे । अघिल्ला दुई खेलमा राम्रो गर्न नसक्दा केही दबाबमा पनि रहेको उनी बताउँछन् । तर यो इनिङले आगामी खेलमा मद्दत पुग्ने उनको आशा छ । अघिल्ला सिजन पोखराबाट खेल्दा बलरको बारेमा धेरै जानकारी हुनसक्ने र सहयोग मिल्ने उनी बताउँछन् ।
प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार