Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने


संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने

काठमाडौँ। संसदीय सुनुवाई समितिले प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई दशैँअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले असोज २६, २७ र २८ गतेको समयतालिका तय गर्दै सुनुवाई प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो । संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित राजदुतहरूको नियुक्तिको समयतालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो । केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनुवाई दशैँपछि गर्नुपर्ने धारणा राखेका थिए । यद्यपि कुटनीतिक नियोगहरूमा राजदुतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनुवाई छिटो टुंग्याउनुपर्नेमा समिति सहमत भएको हो ।छलफलका क्रममा सांसदहरूले सुनुवाई प्रक्रियालाई केवल औपचारिकतामा सिमित नराख्ने प्रतिवद्धता जनाएका छन् ।

प्रश्तावित राजदुतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको औंल्याउँदै समितिले सुनुवाईलाई रचनात्मक बनाउने निर्णय गरेको छ । कतिपय उजुरीहरू सामान्य प्रकृतिका रहेकाले त्यसलाई छिटो किनारा लगाइने र जटिल प्रकृतिका उजुरीका हकमा आवश्यक परे छुट्टै उपसमिति गठन गरेर छानबिन गरिने सभापति वोधनारायण श्रेष्ठले जानकारी दिएका छन् । प्रश्तावित १३ जना राजदुतविरुद्ध ७ वटा उजुरी परेका छन् । २ वटा सबैविरुद्ध परेको छ भने पाँच वटा एक–एक जना व्यक्ति तोकेर परेको छ । समितिले २६, २७ र २८ गते सुनुवाई गर्ने र २९ गते प्रतिवेदन लेखन तथा सिफारिसको काम गर्ने कार्ययोजना बनाएको छ ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलगायतका कुटनीतिक संवेदनशीलतालाई समेत ध्यानमा राखेर यो निर्णय लिइएको हो । समितिको मंगलवारको बैठकमा प्रश्तावित राजदुत उपर प्राप्त उजुरी खोलिएको र प्रश्तावित राजदुतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गरिएको छ ।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदुतमा सिफारिस भएका छन् । यस्तै संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शमशेर जङ्गबहादुर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस गरिएको छ ।

यसैगरी जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार राजदूत सिफारिस भएका छन् ।


प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?