काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमवारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि अघि बढाउने बताएका छन् ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फामाथिको फिफाको निलम्बनका कारण राष्ट्रिय टोली, युवा टोली, एकेडेमीका खेलाडी, कर्मचारी, प्रशिक्षक तथा रेफ्रीलगायत प्रभावित भएको उल्लेख गर्दै राईले अब थप ढिला गर्दा नेपाली फुटबलले ठूलो क्षति व्यहोर्ने बताएका छन् । उनकाअनुसार एन्फा एकेडेमीमा रहेका बालबालिकाको खानपान, बसोबास र पठनपाठन प्रभावित भएको छ । यस्तै, यू–१५ विश्वकप तथा फेस्टिभलमा सहभागी हुने युवा टोलीको तयारीसमेत प्रभावित भएको बताए । राईले सरकारसँग सहकार्य गर्न एन्फा तयार रहेको तर त्यसो नभए फिफाको निर्देशनअनुसार सोमवारदेखि दैनिक गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘एन्फा फिफाबाट किन निलम्बन भयो भन्ने कुरा हामी सबैलाई थाहा छ । तेस्रो पक्षको हस्तक्षेपका कारण यो अवस्था आएको हो । निलम्बनपछि फिफा र एएफसीसँग हाम्रो औपचारिक सम्पर्कसमेत हुन सकेको छैन । हामीले प्रयोग गर्ने आधिकारिक इमेल नै ब्लक हुने अवस्था छ । यद्यपि, आवश्यक सामान्य सूचनाका लागि महासचिवमार्फत अनौपचारिक संवाद भने भइरहेको छ । फिफाले अहिले पनि पंकजविक्रम नेम्बाङ नेतृत्वको कमिटी तथा वर्तमान महासचिवलगायत पदाधिकारीलाई आधिकारिक रूपमा मान्यता दिइरहेको छ । त्यसैले हामी बर्खास्त भएका होइनौँ, निलम्बित अवस्थामा मात्र छौँ । निलम्बन हुनुअघि पनि फिफाले पटक–पटक पत्राचार गर्दै यो अवस्था आउन सक्ने चेतावनी दिएको थियो । हामी पटक–पटक फिफासँग छलफलका लागि गयौँ । तर राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच आवश्यक सहमति हुन नसक्दा अन्ततः यो दुःखद् परिणाम भोग्नुप¥यो । निलम्बनसम्बन्धी पत्र प्राप्त भएपछि फिफाले हाम्रो कार्यकाल समाप्त भइसकेको भन्दै औपचारिक वार्ता, भेटघाट र छलफलको आधिकारिकता नरहेको धारणा राख्यो । त्यसपछि औपचारिक भेटघाट हुन सकेन, यद्यपि अनौपचारिक रूपमा एक–दुई पटक कुराकानी भने भएको थियो । त्यसपछि हामीले धेरै मिडियामा बोलेर विषयलाई थप जटिल बनाउन चाहेनौँ । मन्त्रीज्यू र सदस्यसचिवज्यूबाट फिफा र एएफसीसँग सकारात्मक रूपमा निकासका लागि छलफल भइरहेको जानकारी आइरहेको थियो । त्यसैले त्यो वातावरण बिग्रिने गरी हामीले सार्वजनिक अभिव्यक्ति नदिएका हौँ । तर फिफाको निलम्बनपछि आम नेपाली फुटबलप्रेमीलाई वास्तविक अवस्था जानकारी गराउन पत्रकार साथीहरूमार्फत प्रेस मिट गर्नु आवश्यक थियो भन्ने हाम्रो धारणा थियो ।’
एन्फा महासचिव राईकाअनुसार फिफाले निलम्वन फुकुवाका लागि राष्ट्रिय खेलकुद परिषद्ले २५ मार्च २०२६ मा गरेको निर्णय पूर्ण रूपमा खारेज गरी हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने र एन्फाको विधानअनुसार निर्वाचन प्रक्रिया यथाशीघ्र पूरा गर्नुपर्ने शर्त राखेको छ । फिफाको निलम्बन आगामी ३० सेप्टेम्बर २०२६ सम्म फुकुवा नभए बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता प्रभावित हुने एन्फाले जनाएको छ । निलम्बनका कारण एन्फा मुख्यालय तथा एकेडेमीका कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा तलब–भत्ता पाउन नसकेको र विभिन्न आपूर्तिकर्तालाई करिव १० करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको एन्फाको दाबी छ । राईले अब ढिलाइ भए नेपाली फुटबलले थप नोक्सानी व्यहोर्ने चेतावनी दिँदै तत्काल समाधान खोज्न सरकार, फिफा र एएफसीसँग समन्वय आवश्यक रहेको बताएका छन् ।
प्रकाशित मिति: १ आश्विन २०८३, बिहीबार