Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु(तस्बिरसहित)


काठमाडौँ। नारायणी र राप्ती नदीको तटीय क्षेत्रमा फेला परेका पहिचान नभएका शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न शुरु गरिएको छ ।

फिस्लिङदेखि गोलाघाटसम्मको क्षेत्रबाट हालसम्म संकलन गरिएका २३३ शवमध्ये ६ वटाको पहिचान भई आफन्तलाई जिम्मा लगाइएको छ भने बाँकी शवहरूलाई सुरक्षित तवरले दफन गर्ने प्रक्रिया अगाडि बढाइएको हो । शवहरूलाई लामो समयसम्म फ्रिजमा राख्न नसकिने अवस्था भएपछि जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाहरूले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को प्रोटोकलअनुसार जमिनमुनि सुरक्षित राख्ने निर्णय गरेका हुन् । शव व्यवस्थापनका लागि १.५ मिटर गहिरो खाडल खनिएको छ, जहाँ प्रत्येक शवलाई छुट्टाछुट्टै राखिनेछ । दुईवटा शवको बीचमा ४० सेन्टिमिटरको दूरी कायम गरिने र ठाउँको वचतका लागि एउटाको टाउको र अर्कोको खुट्टाको भाग मिलाएर राखिनेछ । प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने खालको संकेत चिन्ह (ट्याग) राखिनेछ । भरतपुरमा संकलन गरिएका शवहरूलाई ‘बिएचएफ ०१, ०२’ जस्ता कोडिङ गरेर नम्बरिङ गरिएको छ ।

शवलाई माटोले पुरिसकेपछि त्यसको ठीक माथि कङ्क्रिटको सामान्य ढलान गरी स्ट्यान्ड बनाइनेछ । जमिनमुनि शवमा राखिएको नम्बर र जमिनमाथि स्ट्यान्डमा राखिएको नम्बर एउटै हुनेछ, जसका कारण भविष्यमा पहिचान खुलेपछि शव निकाल्न सहज हुनेछ । यस प्रक्रियामा संयुक्त मुचुल्का तयार पार्नुका साथै फोटो, भिडियो र जीआर (भौगोलिक नक्शा) समेत सुरक्षित राखिनेछ ।

पहिचान नभएका सबै शवहरूको डीएनए नमूना संकलन गरिसकिएको छ । बेपत्ता भएका व्यक्तिका आफन्तहरूले सम्बन्धित जिल्ला अस्पताल वा प्रहरी कार्यालयमार्फत आफ्नो डीएनए नमूना उपलब्ध गराउन सक्नेछन् । प्रयोगशालामा परीक्षण गर्दा आफन्तको डीएनए र शवको डीएनए म्याचिङ भएमा सुरक्षित रूपमा राखिएको शव निकालिने र कानूनी प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिनेछ ।

नारायणी र राप्ती नदीका विभिन्न भङ्गाला तथा निकुञ्ज क्षेत्रमा अझै पनि शवहरू हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षकको नेतृत्वमा विशेष विपद् व्यवस्थापन टोली परिचालन गरिएको छ । नदी किनारबाट दैनिक रूपमा शव संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शवहरू सडेको र दुर्गन्धित अवस्थामा फेला पर्ने गरेकाले संकलन र व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षाका लागि पीपीई सेट, ग्लोब्स र मास्कको अनिवार्य प्रयोग गरिएको छ । शव राख्नका लागि पर्याप्त संख्यामा ‘डेड बडी ब्याग’ को समेत व्यवस्था गरिएको छ । यो व्यवस्थापन कार्य विशेष गरी बाढी र प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका तथा पहिचान हुन नसकेका व्यक्तिहरूको सम्मानजनक र वैज्ञानिक अन्त्येष्टिका लागि गरिएको हो ।

 


प्रकाशित मिति: १३ भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?