काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अदालतको बाटोभन्दा नभई पार्टी कार्यालयमै बसेर संवाद गरेर काँग्रेसको विवाद समाधान गर्नुपर्ने बताएका छन्
शनिवार काँग्रेसले आयोजना गरेको ग्रिन रनको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीभित्रका विवाद समाधान पार्टी कार्यलयमा बसेर गर्नको लागी आह्वान गरेका छन् । काँग्रेस नयाँ सोच, दृष्टिकोण र ऊर्जासहित अघि बढिरहेको भन्दै उहाँले काँग्रेसको संस्थापन ईतरका नेताहरुलाई संवादमार्फत पार्टीलाई एकतावद्ध बनाउन आग्रह गरेका छन् । मुद्दा मामिलाको बाटो संविधानले, कानुनले दिएको भएपनि त्यसले मात्रै समाधान नदिने उनको भनाई छ । उनले असोजमा महाधिवेशन हुने भएकोले नेतृत्वमा प्रतिस्पर्धा गर्न सबैलाई खुला रहेको बताएका छन् । विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर नरहने उनको भनाई छ ।
उनले भने, ‘नेपाली काँग्रेस पार्टी नयाँ ढङ्गले, नयाँ सोचले, नयाँ दृष्टिकोणले, नयाँ ऊर्जाले गइरहेको बेला हामी सबै आदरणीय नेताहरूलाई पनि आग्रह गरिरहेका छौँ, अब मुद्दा मामिलाको बाटो संविधानले, कानूनले दिन्छ, त्यसमा जाँदै गर्दाखेरि हामीले त्यसमा नकारात्मक टिप्पणी गर्दैनौँ । तर अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकतावद्ध बनाएर लिएर जानुछ । यो विशेष महाधिवेशनपछि पाँच वर्षलाई आएको नेतृत्व होइन, असोजको महिनामा महाधिवेशन हुँदैछ । कसले आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ । हामी त्यही कुराको लागि अपिल पनि गर्न चाहन्छौँ ।’
उनले कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनको वैधानिक प्रक्रियालाई लिएर काँग्रेसभित्र आन्तरिक विवाद छ । उक्त विवाद अदालतसम्म पुगेको छ । यस्तै काँग्रेस संस्थापन पक्षले असोजमा घोषणा गरेको महाधिवेशनलाई रोक्न संस्थापन ईतर समूह अदालत जाने तयारीमा छ ।
प्रकाशित मिति: ६ भाद्र २०८३, शनिबार