काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र साहको मिसन र भिजनअनुसार काम गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दैं उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री तिमिल्सिनाले मन्त्रीको रुपमा आफूलाईं कुनैपनि खालको गल्ती गर्ने छुट नभएको पनि स्पष्ट पारेका छन्। उनले राष्ट्रको हितमा गर्व गर्न लायक हुने गरी इमान्दारिताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । देशको हितमा कर्मचारीहरुले काम गर्नुपर्ने नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाको भनाई थियो ।
उनले भने,‘मेरो दिल भित्रबाट, मेरो मनभित्रबाट मैले कहिल्यै पनि कुनैपनि गलत गर्ने छुट छैन । कुनै गल्ती भयो भने ती शहीदहरुको सराप म माथि लाग्ने छ । म यो विषयमा एकदम धेरै चिन्तित पनि छु । र फोकस भएर काम पनि गर्नेछु । र यहाँहरु हरेकले आफ्नो तह र तप्काबाट यो मेरो मिसनमा यो देशमा नयाँ सरकार आएको छ । बालेन्द्र साह प्रधानमन्त्री हुनुभएको छ । हरेक मन्त्रालयले उहाँको मिशन र भिजनमा साथ दिने हो । म हाम्रो मन्त्रालयको तर्फबाट त्यसको लागि म पूर्ण रुपमा कटिवद्ध छु । र एज ए टिम तपाईहरु सबैबाट एकदमै ठूलो अनेष्टिका साथ, इमान्दारिताका साथ यहाँको जति जे क्षमता छ । त्यो क्षमताको पूर्ण सदुपयोग गरेर किनभने यहाँहरुले पनि भोली यो मन्त्रालयबाट पनि रिटायर्ड हुनुपर्ला । जिम्मेवारीबाट पछि हटनु पर्ला । त्यतिबेला गर्व गर्न लायक एउटा वातावरण बनोसकि मैले यो देशले खोजेको बेलामा यति ठूलो योगदान गरेको थिए । त्यो दिन सम्झनालायक बनाउने जिम्मेवारी अव तपाईंको काँधमा पनि आएको छ । मेरो काँधमा पनि आएको छ । अब हामी एउटै परिवारजस्तो भएर यो देशको हितका लागि काम गर्नुपर्ने जिम्मेवारीमा छौँ ।’
मन्त्री तिमिल्सिनाले हरेक कर्मचारीले आफ्नो क्षमताको पूर्ण रुपमा सदुपयोग गरेर काम गर्नुपर्ने बेला आएको पनि बताएका छन् ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार