काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका ५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गर्नुभएको हो । पाण्डेले यो निर्वाचनलाई भदौ २३–२४ पछिको देशको नयाँ राष्ट्रिय राजनीतिको लेखाजोखा गर्ने कडीका रूपमा चित्रण गर्नुभयो । निर्वाचनको नतिजाबारे विश्लेषण गर्दै पाण्डेले नेपालको वर्तमान निर्वाचन प्रणालीले एकल बहुमतलाई निषेध गरेको तर्क गर्नुभयो । ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सिट रहेको व्यवस्थामा कुनैपनि दलले बहुमत ल्याउनु फलामको चिउरा चपाउनु सरह रहेको उहाँको भनाइ छ । पाण्डेले छिमेकी मुलुक बङ्गलादेशको उदाहरण दिँदै नेपालमा संविधानका मुख्य एजेण्डालाई थाँती राखेर चुनाव गरिएकोमा असन्तुष्टि जनाउनु भयो । बङ्गलादेशमा चुनावसँगै जनमत सङ्ग्रह गरेर प्रधानमन्त्रीको कार्यकाल र सदनको स्वरूपबारे निर्णय लिइएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा भने दलहरू सरकार बनाउने र प्रधानमन्त्री तोक्ने होडमा मात्र लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो मतदान खासगरी भदौ २३ र २४ पछिको देशको नयाँ राष्ट्रिय राजनीतिको एउटा लेखाजोखा गर्ने निर्वाचनको रूपमा अगाडि आएको छ । र यो निर्वाचनले मेरो अपेक्षा के छ भने देशमा स्थायित्व, शान्ति र आर्थिक समृद्धिको बाटो लिन सकोस् भन्ने मेरो अपेक्षा छ । किनभने देश बारम्बार चाहिँ के भने अस्थिरता र द्वन्द्वमा गइरहेको स्थितिमा यो निर्वाचनपश्चात त्यो अवस्था नआओस् र मुलुकले एउटा नयाँ कोर्स चाहिँ निश्चित गरोस् भन्ने मैले अपेक्षा लिएको छु । त्यो द्वन्द्वको सिर्जना कसरी भयो ? यसको लामो शृङ्खला होला । यसमा सबभन्दा पहिलो कुरा त हरेक राजनीतिको चुरो कुरा के हुनेगर्छ भने आर्थिक कुरा नै हुने गर्छ । आर्थिक विकासको बाटो देशले आर्थिक विकासको लय समात्यो भने मानिस बिस्तारै सन्तुष्ट हुँदै जान्छन्। यद्यपि सबै कुरा आर्थिक कुराले मात्रै निर्धारण गर्दैन । हाम्रो देशभन्दा अगाडि बङ्गलादेशमा पनि त्यस्ता घटना घटे, जहाँको आर्थिक विकास निरन्तर तिब्र रूपले अगाडि बढिरहेको थियो। राजनीति त्योभन्दा केही पृथक् विषय पनि रहेछ। अनेकौँ असन्तुष्टिको जोडजोडले चाहिँ निर्वाचनमा अथवा राजनीतिक दलहरूमा प्रभावित पार्ने हुँदाखेरिमा त्यो पक्षलाई मानिसको ह्युमन इमोसनहरूलाई पनि ध्यान दिनुपर्ने र अर्कोतिर अहिलको डिजिटल एजको च प्रभावलाई पनि ख्याल गर्नुपर्ने अहिलका राजनीतिक दलहरूको सामु चाहिँ एउटा नयाँ चुनौती खडा भएको छ । विश्वव्यापी रूपमा यो डिजिटल एउटा डिजिटल डिभाइड, डिजिटल एज, डिजिटल इन्फर्मेसन, डिजिटल मिसइन्फर्मेसनको प्रभावले पनि राजनीतिमा, विभिन्न देशका राजनीतिमा प्रभाव पारिरहेको छ। हाम्रो देशमा पनि यी विभिन्न फ्याक्टरहरूले प्रभाव पारेका थिए र आशा गरौँ आउँदा दिनहरूमा त्यस बारेमा राज्यले उचित नीति लिनेछ र ठीक बाटो चाहिँ समातेर देश अगाडि बढ्नेछ । त्यसको लागि एकल सरकार चाहिएला । मेरो त आफ्नो विश्लेषणमा कसैको बहुमत कठिन देख्छु । किनभने नेपालको यो केही वर्षदेखिकै निर्वाचनको समीक्षा गर्ने हो भने खासगरी ६४ पछि जतिखेरदेखि नेपालमा समानुपातिक निर्वाचन पद्धति आयो, त्यसको समग्र हेर्दाखेरिमा चाहिँ सबभन्दा उचाइ क्लाइमेक्स भनेको ७४ को चुनाव थियो। जहाँ नेकपा एमाले र नेकपा माओवादी एकता पनि गर्छौँ, हामी पार्टी पनि मिलेर अहिले चुनाव लड्छौँ, भोलि एकता गर्छौँ भन्दा त्यो बेलाको एउटा क्लाइमेक्स थियो जहाँ १७४ सिट दुईवटा दल मिलेर ल्याएका थिए । एमाले एक्लैले १२१ ल्याएको थियो। माओवादीले ५३ सिट ल्याएको थियो। त्यो क्लाइमेक्स हो। त्यो हिसावको सधैँ नतिजा आउने स्थिति देखिँदैन किनभने ४० प्रतिशत सिट समानुपातिकबाट छ र ६० प्रतिशत सिट प्रत्यक्षबाट छ । प्रत्यक्षमा सिङ्गै प्रत्यक्षको मात्रै निर्वाचन हुँदा अब हामीले पटकपटक बहुमत आएको पनि देखेका छौँ। तर समानुपातिकसहितको हुँदा कहिल्यै पनि बहुमत नआउने स्थिति हुन्छ। यसपालिको पनि परिदृश्य त्यस्तै देख्छु म ।’
अन्तरिम सरकारले चुनाव गराउन सक्दैन भन्ने आशंकाका बीच सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा पाण्डेले धन्यवाद दिनुभयो ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार