काठमाडौँ। नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ ।
आईतवार बिहान बसेको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराएका छन् । उनकाअनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रिय कमिटीको संरचना बन्नेछ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उनले विधान महाधिवेशनबाट पारित विधानलाई आत्मसाथ गर्दै अगाडि जाने निर्णय गरेको बताएका छन् ।
उनले भने, ‘१० औँ महाधिवेशनमा पारित भएको विधानलाई आत्मसाथ गर्दै अगाडि जाने र उपाध्यक्ष मात्रै राखेका छौँ पाँच जना । वरिष्ठ उपाध्यक्षको प्रबन्ध गरिएको छैन । पदाधिकारीसहितको बारेमा निर्णय गरेर हामी महाधिवेशनस्थल जाँदैछौं ।’
उनले केन्द्रिय कमिटीको अन्तिम बैठकले सबै सदस्यहरुलाई धन्यावाद समेत व्यक्त गरेको जानकारी गराएका छन् ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार