
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणको निन्दा गरेका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विष्टले अन्तर्राष्ट्रिय सन्धी र ऐन कानूनअनुसार सार्वभौम सत्तामाथि भएको हमलाको निन्दा गरेका हुन् । उनले युद्धग्रस्त मुलुक इरान र इजरायलमा रहेको अवस्थाबारे परराष्ट्र मन्त्रीले सदनलाई जानकारी गराउन आग्रह गरे । सांसद विष्टले नवलपरासीदेखि दुम्किबास हुँदै दाउन्नेसम्मको सडकमा अलपत्र परेका जनताका पीडालाई हेरेर सरकार बालुवाटारमा मस्ती गरिरहेको आरोप लगाए । मौसम विभागले सचेत गराउँदैमा विपद् नटर्ने बताउँदै उनले विपद् व्यवस्थापनको पूर्वतयारी र भैपरि आउने समस्याको समाधानबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरे ।
उनले भने, ‘यतिबेला विश्वमा विश्वयुद्ध हुने खतरा बढेको छ । एउटा सार्वभौम सम्पन्न इरानमाथि अमेरिका र इजरायलले संयुक्त रुपमा आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय सन्धी र ऐन कानुनअनुसार सार्वभौम सत्तामाथि हमला भएको छ त्यसको निन्दा गर्न चाहन्छु । र, त्यो शान्तिपूर्ण तरिकाले वार्ताद्वारा समाधान होस् भनेर कामना गर्न चाहन्छु । सँगै इजरायल र इरानमा रहेका नेपालीको अवस्था के छ ? करिब १६ जना इरानमा छन् र सात हजारभन्दा बढी इजरायलमा छन् ती नेपालीको अवस्था के छ ? नेपाल सरकार र परराष्ट्र मन्त्रीले यहाँ आएर नेपाली जनतालाई र सार्वभौम संसदमा नेपालीको स्थिति के छ भन्ने विषयमा जानकारी गराउन आग्रह गर्न चाहन्छु । र, अर्कोतिर यतिबेला सडक बेहाल अवस्थामा छ । राज्य सुतिरहेको छ, हामी हाम्रो सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको सिन्धुली, रामेछाप र दोलखाको अनुगमन भयो । गतवर्ष असोज ११, १२ गते आएको बाढीले क्षति पुराइएका वीपी राजमार्गलगायत खिम्ती, अपर तामाकोशी जलविद्युत आयोजनामा सरकारले मर्मत गरेको देखिँदैन । र, यो सरकारले के गरिरहेको छ ? किन यो सरकार जनताको पक्षमा छैन ? किन यो पूर्वाधारहरु निर्माण गर्न तयार छैन ? त्यसैगरी राष्ट्रिय राजमार्ग नवलपरासीदेखि दुम्किबास हुँदै दाउन्नेसम्मको सडकको अवस्था दयनीय अवस्थामा छ । १४÷१५ घण्टा जनता त्यहाँ बसेर गुहार मागिरहेका छन् तर त्यहाँ उद्धार र त्यसको तयारी केहीपनि छैन । सरकारले त्यहाँभित्र जनताले खिचेका भिडियो, अलपत्र परेका जनताका पीडालाई हेरेर बालुवाटारमा मस्ती गरिरहेको छ । यो सरकारले १०÷१२ महिनाको काम के भयो त ? गतवर्षको असोजमा गएको बाढीपछि केही काम भएको छैन । मौसम विभागले कि तपाईहरु खोला किनारामा नहिड्नुहोला, नबस्नुहोला भन्नेबाहेक केहीपनि छैन । त्यसको रोकथामका लागि के गरिरहेछ सरकार ? विपद् व्यवस्थापन समितिले पूर्व तयारी गरेको खै, सदनलाई जानकारी दिनुपर्छ कि पर्दैन ? जनतालाई सुसूचित गर्नुपर्छ कि पर्दैन ? के सूचना दिने जनतालाई ? विपद् व्यवस्थापनको तयारी यो सरकारले के गरेको छ त ? भैपरि आउने समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर यो सदनमा आएर गृहमन्त्रीले जवाफ दिनु पर्छ कि पर्दैन ?’
उनले गत वर्षको असोजमा बाढीले क्षति पुराएका वीपी राजमार्गलगायत खिम्ति जलविद्युत आयोजना र अपर तामाकोशी जलविद्युत आयोजनामा मर्मत सम्भारको कुनै काम सरकारले नगरेको स्पष्ट पारे ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार