Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैनः मन्त्री पन्त >>   हेटौँडाका जनप्रतिनिधिहरूको प्रशासन परिसरमै धर्ना >>   सबै वस्तुमा एमआपी लागू गर्ने निर्णय पुन : विचार गर्न राष्ट्रिय व्यवसायी महासंद्वारा सरकारको ध्यानाकर्षण >>   निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने : सुमित्रा बिसी >>   संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे >>   ‘डिबेञ्चरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने व्यवस्था सकारात्मक’ >>   अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी >>   पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको भन्दै निर्वाचन आयोग पुग्यो रास्वपा >>   ‘स्थिर विनिमय दर यथावत राख्न आवश्यक’ >>   मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैनः मन्त्री गुरुङ
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

संघीयता र बजेट कार्यान्वयनमा भएका कमी,कमजोरीको समीक्षा गर्ने समय भयोः सांसद भट्टराई


काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले संविधान बनाएको १० वर्ष बितिसकेकोले अब समीक्षा गर्ने समय आएको बताएका छन् ।

शनिवार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले संघीयताको कार्यान्वयनमा र बजेट कार्यान्वयनमा भएका कमीकमजोरीसँगै राम्रा पक्षका विषयमा समीक्षा गर्ने समय आएको बताएका हुन् । उनले नेपालको संविधान उत्कृष्ट बनाएको दाबी गरिरहेपनि अलिकति इमोशनल र दवावबाट प्रेरित हुनुपरेको स्मरण गरे । तीन तहको सरकारले काम कसरी गरिरहेका छन्, कमी कहाँ छ ? त्यसबारेमा सोच्नुपर्ने समय आएको बताउँदै नेपालको जस्तो भूगोल भएको मुलुकमा ७ सय ५३ स्थानीय तह आवश्यक नभएको र करिब ५ सय स्थानीय तह बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय तहको संख्या घटाएर जनशक्तिसँगै माथिल्लो तहका कर्मचारी र बजेट राम्रोसँग दिएर जवाफदेही बनाउनुपर्ने स्पष्ट पारे । केन्द्रले राष्ट्रिय गौरबका १० देखि १५ वटा योजना राखेर बाँकी स्थानीय तह र प्रदेशमा दिनुपर्नेमा उनको जोड थियो ।

सांसद भट्टराईले , ‘संविधान बनाएको पनि १० वर्ष वित्यो । अब हामी अलिकति समीक्षा गरौं । हाम्रो तीन तहको संघीयताको कार्यान्वयनमा र बजेट कार्यान्वयनमा के कस्ता कमीकमजोरी छन्, राम्रा पक्षहरु के छन् ? एकपटक ठण्डा दिमागले समीक्षा गरौं । मलाई के लाग्छ भने हिजो संविधान बनाउँदा एकदम उत्कृष्ट संविधान बनाएका छौं दाबाका साथ भन्छौं । र, हामी अलिकति इमोशनल थियौं र दबाबबाट प्रेरित पनि थियौं । परिस्थिति त्यस्तै थियो देशको र अन्तर्राष्ट्रिय पनि त्यस्तै थियो । त्यसले गर्दा हामीले संविधान बनाएर संविधानबाट मुलुकलाई निर्देशित गर्नुपर्ने ऐतिहासिक आवश्यकताको आधारमा संविधान बनाएका हौं नत्र भने देश थप अराजकतातर्फ जाने खतरा बढिरहेको थियो, देशलाई विखण्डनतिर लाने खतरा बढीरहेको थियो । त्यस्तो अवस्था नहोस् भन्नका लागि हामीले केही सम्झौता गरेका छौं, केही इमोशनल ढंगले र दबाबबाट पनि बनाएका छौं अब ठण्डा दिमागले एकपटक समीक्षा गरौं । हाम्रा तीन तहका सरकारहरुले काम कसरी गरिरहेका छन् । कमी कहाँ छ ? त्यसअर्थमा म भन्न चाहन्छु कि हाम्रो जस्तो सानो भूगोल भएको मुलुकलाई ७५३ वटा स्थानीय तह चाहिन्छ कि चाहिँदैन ? मलाई लाग्छ त्यो चाहिँदैन । त्यसलाई करिब ५ सयमा झार्दा हुन्छ । वडाहरुको संख्या बढाउँ, स्थानीय तहको संख्या घटाइदिउँ । बजेटहरु राम्रोसित तल दिउँ, जनशक्ति दिउँ, कर्मचारी अलि माथिल्लो तहको दिउँ, अनि उहाँहरुलाई जवाफदेही बनाउँ । प्रदेशलाई पनि त्यही ढंगले गरौं । अब प्रदेशहरुमा योजनाहरु खरिदबिक्री भयो भनेर गुनासाहरु आइरहेका छन् । यसलाई हटाउनु प¥यो, प्रदेश एउटा भ्रष्टाचारको र विचौलियाहरुको काम गर्ने केन्द्र बनाउनु हुँदैन । प्रदेश एउटा महत्वपूर्ण अंगको रुपमा स्थापित गरेका हौं । त्यस हिसावमा प्रदेशलाई अझै ज्यादा जवाफदेही बनाउन ढंगले अगाडि बढेर एउटा समीक्षा गर्दै अगाडि बढौं भन्ने लाग्दछ । र, स्थानीय तहलाई त्यो ढंगले अधिकार सम्पन्न बनाइयो भने केन्द्रमा हामी राष्ट्रिय गौरबका १०–१५ वटा योजना राखौं र त्यसमा खर्च गर्ने सोचमा जाऔं । अरु स्थानीय तह र प्रदेशमा दिउँ । म त भन्छु, १० योजना, १० वर्ष, १० खर्ब । एक वर्षमा १० खर्ब विकास खर्च गर्न सक्यौं भने यो निकै महत्वकांक्षी कुरा हो । एक वर्षमा केन्द्रले १० खर्बको विकास बजेट खर्च गर्नसक्छ, त्यो ल्याकत हामी राख्छौं । नत्रभने सानातिना कुरा गरेर प्रतिफल आउँदैन । विनियोजनका सन्र्दमा पनि केही साहसिक कदम उठाऔं, नत्रभने यही कामचलाउ तरिकालेमात्र गयौं भने हामीले विश्वास आर्जन गर्नसक्दैनौं । जनतामा जुन निराशा छ, अलिकति आक्रोश पनि छ । त्यो निराशा र आक्रोशलाई गलत तत्वहरुले उपयोग गरिरहेका छन्, व्यवस्था विरोधीहरुले उपयोग गरिरहेका छन्, राष्ट्र विरोधीहरुले उपयोग गरिरहेका छन् त्यो स्थितिको अन्त्य हुनुपर्छ भन्ने म राख्न चाहन्छु ।’

उनले जनतामा निराशा र आक्रोश बढ्दै गइरहेको अवस्थामा गलत तत्वहरुले उपयोग गरिरहेकोले त्यो स्थिति अन्त्य हुनुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: ७ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?