Trending
>>   आज मिति २०८२ साल वैशाख १८ गते बिहिबार ,हेर्नुहोस् आजको राशिफल >>   रेशम चौधरीलाई कार्यक्रम स्थलमै पक्राउ गर्नु अलोकतान्त्रिकः अध्यक्ष राउत >>   हृदयेन्द्र शाहलाई राजा हुने सपना नदेख्न केपी ओलीको चेतावनी >>   आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह >>   स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु >>   राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली >>   आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै >>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

‘चारतिर’ फर्किएका नेपालका कम्युनिस्ट दलः एक–अर्कामाथि आलोचना, एकताको विषय चर्चामा सिमित


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७६ औँ स्थापना दिवस मनाइएको छ ।

२००६ साल वैशाख ९ गते भारतको कोलकातामा नेपाल नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । जसको नेतृत्व पुष्पलाल श्रेष्ठले गरेका थिए । पार्टीका तत्कालीन संस्थापक महासचिवमा पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७६ औँ वर्षे इतिहासको नेपालका कम्युनिस्ट पार्टीहरूले खुलेर प्रशंसा गर्छन् । तर नेकपाको ७६ औँ वर्षे इतिहास सुखदायी भने छैन । नेकपाका कम्युनिस्ट पार्टीहरू अहिले चारतिर फर्किएका छन् । ७६ वर्षे अवधिमा कम्युनिस्ट पार्टीहरूको फुटको क्रम निरन्तर चलिरहेको छ । २०१७ सालमा पहिलो पटक फुटेका कम्युनिस्टहरूको त्यसता विभाजनको चरण निरन्तर छ । २०७४ को आमनिर्वाचनमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकै ठाउँ उभिए । उनीहरूले झन्डै दुई तिहाइ सिट पनि हासिल गरे । एमाले र माओवादी केन्द्रले वि.स. २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । जसको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै थिए । तर, एमाले र माओवादी केन्द्रको एकता लामो समय टिक्न सकेन् । नेकपा फुटेपछि तत्कालीन एमाले र माओवादी केन्द्र पुनः ब्युँतिए । त्यसमा पनि, एमालेका केही नेताहरू पार्टीबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) गठन गरे । जसको नेतृत्वमा माधव कुमार नेपाल रहेका छन् ।

नेपालमा अहिले १६ वटा कम्युनिस्ट पार्टीहरू छन्, जसमा कोही संसदभित्र छन् भने कोही संसदबाहिर छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा लगायतका दलले संसद्मा प्रतिनिधित्व गरेका छन् । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, सिपी मैनाली नेतृत्वको नेकपा माले लगायतका कम्युनिस्ट पार्टीहरू संसदबाहिर छन् । नेपाल पटक पटक कम्युनिस्ट एकताको विषयले चर्चा पाउँछ । तर चार तिर फर्किएका कम्युनिस्ट हरूको एकता विभाजनजस्तो सजिलो छैन । अहिले कम्युनिस्ट दलका नेताहरू एकले अर्कालाई धारे हात लगाउँदै चर्को आलोचनामा उत्रिँदै आएका छन् । मंगलबार काठमाडौँमा नेकपा)को ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७५ सालमा भएको वाम एकताको सम्झना गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लक्षित खनिए । उनले २०७५ सालमा कम्युनिस्ट पार्टीलाई झन्डै दुई तिहाइको शक्तिको साथमा उभ्याएको बताउँदै केही ईष्र्यालु र परिचालित कठपुतलीहरूका कारणले नेकपा फुटाएको बताएका छन् । उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि पनि खनिए। उनले नेपालप्रति लक्षित गर्दै दुई तिहाइमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छौ भने पार्टी फुटाएर हिँडेको आरोप लगाएका छन् । उनि त्यतिमा मात्रै रोकिएनन्, माधवतिर लक्षित गर्दै ‘जुन आमाको कोखमा बसेर हुर्कियो, उनै आमाको अस्तित्व मार्न’ लागेको आरोप समेत लगाएका छन् ।

उनले भने, “हामीले २०७५ सालमा कम्युनिस्ट पार्टीलाई झन्डै दुई तिहाइको शक्तिको साथमा उभ्यायौँ । नेपालको इतिहासमा अहिलेसम्म कुनैपनि पार्टी, कुनै पनि शक्ति यति मजबुत रूपमा देखा परेको थिएन, जनताबाट अनुमोदित भएर यसरी आएको थिएन । तर, केही ईष्र्यालु र परिचालित कठपुतलीहरूका कारणले कम्युनिस्ट पार्टीभित्र समस्या पैदा गर्ने, कम्युनिस्ट पार्टीलाई एकतावद्ध हुन नदिएर अन्तिममा पार्टी फुटाएर छोडे । यस्तो समय आयो, दुई तिहाइमा पुगेको आन्दोलन, दुई तिहाइमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छौ भनेर एमालेमै बसेर अघाएका किर्नाजस्ता भएकाहरू कुदेँ, शहीदका रगतहरूमाथि कुल्चिएर । कोही १३ वर्ष यही पार्टीको लिडरसिपमा बसे, कोही १५ वर्ष यही पार्टीको लिडरसिपमा बसे । निर्लज्ज ढङ्गले यही पार्टी सिध्याउँछौं भनेर हिँडे’ ओलीले भने, ‘जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दूध चुसेर हुर्कियो त्यही आमालाई अस्तित्व पनि राख्दिनँ भनेर मार्न तयार हुने, अपराधी प्रवृत्ति तिनीहरूमा हाबी छ ।”

माओवादी केन्द्रका अध्यक्ष अझै पनि कम्युनिस्ट एकताको नारा उठाउँदै छन् । उनले क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नथाकेको र क्रान्तिकारी कम्युनिस्टहरूलाई एकता गर्ने प्रयासबाट नआत्तिएको समेत बताए । उनले केपी ओली लगायतका कम्युनिस्ट पार्टीहरूका नेताहरूलाई लक्षित गर्दै अवसरवादका कारण सफल हुन नसकेको बताउदै मंगलवार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा उनले सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई छलफलमा आउन आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले भने, “क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध बनाउने कुरामा विल्कुल विमुख भएका छैनौँ । म सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई जो जो, जहाँ जहाँ भएपनि सबैलाई गम्भीरताका साथ, जिम्मेवारीपूर्वक र निष्ठाका साथ म अपिल गर्न चाहन्छु, आउनुहोस् बसेर छलफल गरौँ, बहस गरौँ र एउटा सही विचारको आधारमा एकीकृत र केन्द्रीकृत भएर देशमा समाजवादी क्रान्तिको यात्रा अगाडी सङ्कल्प गरौँ । हामी सबै सोचौँ । हामीले यस सन्दर्भमा केही प्रयोगहरू ग¥यौं, असफल भयौँ । हाम्रो पार्टी नै थियो, जसले नेपालको कम्युनिस्ट आन्दोलनलाई सिङ्गै एकता गरौँ भन्ने उद्देश्यका साथ निर्वाचनमा सँगै जाने र पार्टी एकता गर्ने प्रश्ताव अगाडी सारेको । तर अवसरवादका कारण सफल हुन सकेन । हामी त्यसबाट थाकेका छैनौँ, आत्तिएका पनि छैनौँ । हामी कम्युनिस्ट आन्दोलनको एकताको झन्डा बोक्न छाडेका पनि छैनौँ, छोड्न पनि छोड्दैनौँ । तर त्यो सच्चा कम्युनिस्टको एकता हुनुप¥यो, क्रान्तिकारी कम्युनिस्टको एकता हुनुप¥यो ।”

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)माथि खनिन छाडेनन् । उनले नेकपा (माओवादी केन्द्र) अवसरवादी पार्टीको रूपमा उल्लेख गरेका छन् । उनले केही दिनअघिसम्म काँग्रेसको पिठ्युँमा चढेर माओवादीले घमन्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको जिकिर गरे। काँग्रेसको बुई चढेर अहिले एमालेले पनि आगामी निर्वाचनमा पनि बहुमत ल्याउने घमन्ड गरिरहेको उनले बताए ।

खनालले भने, “कम्युनिस्ट आन्दोलन कस्तो भयो ? नेकपा एमाले भन्ने सबैभन्दा ठूलो पार्टी हामी अर्को पटक पनि जित्छौँ, बहुमत ल्याउँछौँ भनेर घमन्ड गरिरहेको छ । तर त्यो घमन्डको कुरा नेपाली काँग्रेसको पिठ्युँमा बसेर बोल्छ । दलाल पुँजीपति वर्गको पार्टीको पिठ्युँमा बसेर बोल्छ । जो सुधारवाद बाहेक केही पनि जान्दैन । यो घोर दक्षिणपन्थी कुरा हो । एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म काँग्रेसकै पिठ्युँमा बसेर कराइरहेको थिए हाम्रा कमरेड प्रचण्ड । त्यो पिठ्युँ अहिले चिसो भएकै छैन, तातो पिठ्युँमा गएर केपी ओली बसेका छन् । अनि अहिले बाहिर आएर अलिकति कुराहरू गर्न थालेका छन् । अलि क्रान्तिकारी कुरा गर्न थालेका छन् बाहिर आएपछि । यो पनि परीक्षण गर्नुपर्ने कुरा छ । अवसरवाद पो हो की ? हाम्रो नै कुरा गर्दा पनि एक दुई वटा मन्त्रालय पाउँदा हामी पनि गयौँ । त्यो मन्त्रालय प्राप्त गरेर हाम्रो पार्टीले के पायो ? सबैले मूल्याङ्कन गरौँ त । यी सबैको समीक्षा गर्नुपर्छ ।”

नेकपाको नेतृत्व गरेका नेत्रविक्रम चन्दले माओवादी केन्द्र अध्यक्ष दाहाल र नेपाल समाजवादी (पार्टी) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति गुनासो पोखेका छन् । उनले प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दिएको भन्दै उनिहरुले आफूहरुलाई साथ नदिएको समेत बताएका छन् ।

उनले भने, ‘हामीले त साथी दिएको हो नि, प्रचण्ड कमरेड, बाबुराम कमरेडहरुलाई जिन्दगी नै दिएको हो नि । के को समर्थन ? हामीले उहाँको आदेशमा जिन्दगी समर्पित गरेको हो । हामी खाइ–नखाई, घाइते भई, परिवार गुमाउँदै यहाँसम्म आएको हो । उहाँहरुले एकचोटी हामीलाई हेर्न हुदैँन् र ? तिमिहरुले पनि गर, हामी साथ दिन्छौं भन्न हुँदैन र ?’

त्यसो त, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनाइएको छ । २०८० असार ४ मा गठन भएको समाजवादी मोर्चाको पनि औचित्य खासै देखिएको छैन । दलहरूले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भुमिका खेल्ने बताएका थिए । तर अपेक्षाकृत सक्रियता भने देखिएको छैन । नेपालमा कम्युनिस्टहरूको एकता होस् या नहोस् सत्तामा पुग्न जति बेला पनि संसद्मा प्रतिनिधित्व गर्ने कम्युनिस्टहरू दलहरू मिल्न तयार हुन्छन् । कम्युनिस्ट पार्टीहरूले सत्ता र कुर्सीलाई नै पहिलो प्राथमिकता राख्ने प्रवृत्तिले कम्युनिस्ट एकता सधैँ चर्चामा मात्र सीमित हुने गरेको छ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?