Trending
>>   भारत नियन्त्रित कश्मीरमा २५ पर्यटकको मृत्यु >>   अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छ: शेष घले >>   महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैनः शिक्षण अस्पताल सञ्चालकहरु >>   भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा लाई मतलव छैनः उपसभापति गुरुङ >>   आज मिति २०८२ साल वैशाख १० गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   भारतसँग भयो उर्जा विकासका सम्झौता >>   प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छः वामदेव गौतम >>   ११ गते देखि हुने कक्षा १२ को परीक्षा सर्यो ,२१ गते देखि हुने >>   सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेनः घनश्याम भुसाल >>   कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, आवश्यक तयारी गर्न निर्देशन
Logo
१० बैशाख २०८२, बुधबार
१० बैशाख २०८२, बुधबार

सहकारी पीडितहरुलाई राहत दिनेगरी बजेट आउँछः सचिव पोखरेल


अर्जुनप्रसाद पोखरेल, सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय 

काठमाडौँ। नेपाल सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । हरेक वर्ष घाटा बजेट ल्याउँदै गरेको सरकारले विनियोजन गरेको बजेट पूर्णतः खर्च गर्न नसकेको धेरै भइसकेको छ । सबै आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामा घटाउने बाध्यतामा सरकार छ । आम्दानी भन्दा खर्च बढी गर्नुपर्ने अर्को बाध्यतामा पनि सरकार छ । विकासमा गर्नुपर्ने खर्च भन्दा साधारण खर्च र वैदेशिक ऋण तिर्न बजेटको ठूलो हिस्सा खर्च भइरहेको अवस्था छ । आम्दानी र खर्चको ठूलो असन्तुलनबीच यो आगामी आर्थिक वर्षको बजेट बनिरहेको छ । लामो आर्थिक मन्त्री र निराशाबीच आगामी आर्थिक वर्षको बजेटमा धेरै अपेक्षाहरु छन् । यसै सन्दर्भमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलसँग कुराकानीको सम्पादित अंश ।

प्रश्नः अगामी आर्थिक वर्षको बजेट निर्माण कार्य कसरी भइरहेको छ ? 
जवाफः बजेट निर्माणका काम अघि बढेको छ । खासगरी बजेटको तयारी गरिरहँदा तीन वटा महत्वपूर्ण कामहरु गर्नुपर्ने हुन्छ । पहिलो नीति तथा कार्यक्रममा राख्नुपर्ने मन्त्रालयसँग सम्बन्धित विषयहरु हो । त्यो हामीले पठाइसकेका छौं । दोस्रो बजेट वक्तव्यमा राख्नुपर्ने मन्त्रालयका प्राथमिकताका विषयहरु हुन् । अगामी वर्षमा कसरी काम गर्ने भन्नेकुरा महत्वपूर्ण हुने हुँदा त्यसमा पनि हामीले लगभग तयारी गरिसकेका छौं । सम्भवतः आजै अर्थ मन्त्रालयमा पठाउछौं । तेस्रो, हामीलाई दिइएको बजेटको सिलिङभित्र रहेर लाइन मिनिस्टरी बजेट इन्फर्मेसन सिस्टम (एलएमबिआइएस) इन्ट्री गर्नुपर्छ । त्यो हामीले गरिसकेका छौं । अब यसपछिको छलफल भनेको अर्थ मन्त्रालयमा बजेटसम्बन्धी छलफल हुन्छ । छलफलको मिति समेत तय भएर आइसकेको छ । हामी तोकिएको मितिमा बजेटसम्बन्धी छलफलका अर्थ मन्त्रालयमा जान्छौं । र हामीले वार्षिक रुपमा तय गरेका कार्यक्रमहरुमा कुन कार्यक्रमहरु प्राथमिकतामा पर्छन्, कुन पर्दैनन् ? सिलिङभित्र कति अट्छ कति अट्दैन ? हामीलाई दिएको सिलिङले पुगेन भने हामी थप बजेटको लागि पनि पहल गर्छौं । केही विकासका कार्यक्रमहरुका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग पनि हाम्रो छलफल हुन्छ र ति छलफलहरुको आधारमा हामी यो मन्त्रालयको अगामी वर्षको बजेटमा राख्ने कार्यक्रमहरु र केही सेवा प्रवाह सुधारका कार्यक्रमहरुलाई अन्तिम रुप दिन्छौं र ति अन्तिम रुप दिएका कार्यक्रमहरु एलएमबिआइएस लक हुन्छन् । त्यसपछि अर्थमन्त्रीले बजेट वक्तव्य गरिसकेपछि योजनाहरु पास हुन्छन् । त्यसपछि समग्र रुपमा कार्यक्रम बन्छ र संसदले बजेट पास गरेपछि ति कार्यक्रमहरु कार्यान्वयनको लागि मन्त्रालयलाई आउँछ । अहिले हामी तपाईले भनेजस्तै बजेट निर्माणको चटारोमै छौं । चालु आर्थिक वर्षको बाँकी अवधिका कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने दायित्व त्यत्तिकै छ भने अगामी आर्थिक वर्षको कार्यक्रमहरु राम्रो बनाउने, देखिएका चुनौतिहरुलाई सामना गर्नेगरी बजेट तर्जुमा गर्नुपर्ने भएको कारणले हामी अहिले समयको चापमै छौं । अहिले हामीले घडी नहेरी काम गरिरहेका छौँ ।

प्रश्नः चालु आर्थिक वर्षको खर्चको स्थिति के छ, गत आर्थिक वर्षको यही अवधिमा खर्चको स्थिति कस्तो थियो ?
जवाफः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धेरै पुँजीगत बजेट परिचालन हुने मन्त्रालय होइन । चालुतर्फ हाम्रो ९० प्रतिशतभन्दा बढी नै बजेट खर्च भएको होला । पुँजीगत खर्च ६४ प्रतिशत भएको छ । हामीले केही प्रो इक्युपमेन्टको आईसीबी गर्नुपर्ने भएकोले त्यो प्रक्रियामा रहेको हुनाले खर्च नदेखिएको अवस्था हो । आईटी सफ्टवेयर खरिद गर्नुपर्ने भएको कारण तयारी धेरै गर्नुपर्ने भएकोले ति बाहेक मन्त्रालयका अन्य वार्षिक कार्यक्रमहरु लक्ष्यउन्मुख छन् । हामीले जुनु पिरियडमा जे जति खर्च गर्ने भनेका थियौं त्यो उपलब्धि राम्रो छ । योजनाबाट प्राप्त जानकारीअुनसार अघिल्लो महिनाको अन्तिमसम्म हामी ६४ प्रतिशत पुँजीगत र्खचमा रहेका छौं । मैले मेरो टोलीलाई के भनेको छु भने बजेटमा गर्न सकिने कार्यक्रमहरु राख्नुपर्छ । महत्वकांक्षी भएर राख्नु हँुदैन । सरकारले महत्वकांक्षी भएर आयोजनाहरु ल्याउने हो । तर हामी कर्मचारीहरुले गर्न सकिने कार्यक्रमहरु राख्ने हो । कार्यक्रम राख्दा उत्साहित भएर राख्ने र पछि गएर कार्यान्वयन गर्न नसकिने र प्रगति नपुग्ने कार्यक्रम बनाउनु जरुरी छैन । हामीले रिजल्ट दिने हो । त्यही हिसावले मैले आफ्नो टोलीलाई परिचालन गरेको छु । हामीसँग विकास निर्माणका कार्यक्रमहरु नहुने भएकोले साधारणतर्फकै कार्यक्रमहरु, सेवा प्रवाह सुधारका कार्यक्रमहरु हुने भएको हुनाले हाम्रो खर्च राम्रो छ । उपलब्धि पनि राम्रो र सन्तोषजनक छ ।

प्रश्नः अगामी आर्थिक वर्षको लागि मन्त्रालयले के—के कार्यक्रम अघि सार्न लागेको छ, दोहोरिएका कार्यक्रमहरु के के छन्, अनुमानित बजेट विनियोजन कति छ ? 
जवाफः अगामी वर्षको प्राथमिकतामा खास गरेर सेवा प्रवाह सुधारलाई बढी महत्व दिएका छौं । मालपोत र नापी कार्यालयबाट दिइने सेवालाई हामीले उच्च प्राथिमकतामा राखेका छौं । नापीको सम्बन्धमा नयाँ नयाँ प्रविधिहरु अवलम्वन गर्ने भनेर त्यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिएका छौं भने भूमि प्रशासनतर्फ हामीले हालसालै भूमि र नापीको पनि हामीले निर्देशिकाहरु परिमार्जन गरेर ल्याएका छौं । त्यो सेवा प्रवाह सुधारको एउटा अंग हो । र अगामी वर्षको कार्यक्रममा पनि हामीले खास गरेर सेवा प्रवाह सुधारलाई बढी जोड दिएका छौं । त्यस्ता कार्यक्रमहरु राखेका छौं । साथसाथै कर्मचारीको क्षमता अभिवृद्धिका कुराहरु र नीतिगत रुपमा गरिएका भूमिसम्बन्धीको परिवर्तनहरुको बारेमा कर्मचारीहरुलाई ओरेन्टेसन गर्ने विषयहरु बढी केन्द्रित गरेका छौं भने भूमि र नापीमा प्रविधिको प्रयोगको सुनिश्चितता, यसका सम्भाव्य जोखिमहरुलाई न्युनिकरण गर्ने र प्रविधिको प्रयोगलाई बढाएर लैजाने भनेर हामी त्यो कार्यक्रमलाई नै फोकस गरेका छौं ।

प्रश्नः सहकारी पनि प्रत्यक्ष रुपमा यही मन्त्रालयअन्तर्गत जोडिन्छ, सहकारी क्षेत्रमा देखिएका समस्या र सहकारीपीडितहरुलाई राहत उपलब्ध गराउनको लागि कस्तो योजनाहरु बनाउँदै हुनुहुन्छ ? 
जवाफः सहकारीको क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्न भनेर मन्त्रालय दिनरात काम गरिरहेको छ । हालै हामीले सहकारी ऐन, २०७४ मा संशोधन पनि गरेका छौं । केही संस्थागत र केही संरचनागत प्रबन्धहरु हामीले गरेका छौं । तर जनताले कतिबेला हामीले गरेका कामहरुको नतिजा पाउँछन् भने जतिबेला उहाँहरुले राहत पाउँछन् । त्यसकारण अब हामी त्यो पाटोमा जाँदैछौं । जनतालाई तत्काल राहत दिने र समस्याग्रस्त सहकारीको कामलाई कुन गतिमा लगेर किनारा लगाउनसक्छौं भन्नेमा हामी लागेका छौं । हामीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको  कामलाई प्रभावकारी बनाउन दरबन्दी परिमार्जन ग¥यौं । थप दरबन्दीहरु दिएका छौं । उहाँहरुले मन्त्रालयमा राखेका कुराहरुमा समेत हामीले शिघ्र निकास दिएका छौं । अर्को अहिले सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गसिकेको छ र प्राधिकरण समेत आफ्नो काम थालनि गरिसकेको छ । त्यहाँबाट पनि हामीले समस्याग्रस्त र समस्याउन्मुख रहेका सहकारीहरुको अध्ययन गर्छौं र केही प्रहरी कारबाहीहरु समेत बढाएका छौं तर प्रहरी कारबाही गर्दैमा जनताले राहत पाउँछन् कि पाउदैनन् भन्ने विषय पेचिलो बन्दै गएको छ । त्यसैले हामीले थप प्रवन्ध गरेर जानुपर्छ भन्ने हिसावले अगामी आर्थिक वर्षको लागि ति विषयहरुलाई प्राथमिकतामा राखेका छौं । हामीले जनतालाई तत्काल राहत दिनको लागि के गर्न सकिन्छ भनेर मन्त्रालय छलफलमा छ । हामी त्यो छलफलबाट निचोड निकाल्छौं । र अगामी आर्थिक वर्षको बजेटमा हामी केही न केही विषयवस्तु लिएर आउँछौं जसले सहकारी पीडित नागरिकले राहतको अनुभव गर्न सकुन् । कानूनको दायराभित्र रहेर सरकारले गर्नुपर्ने सहयोगहरु कहाँबाट गर्न सकिन्छ भन्ने विषयमा हामी लागिरहेका छौं, आशा छ त्यही हिसाबको बजेट आउँछ ।

प्रश्नः यो त व्यवहारिक पाटो भयो, नीतिगत रुपमा सहकारीलाई नियमनका लागि के छ योजना ? 
जवाफः राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा रहिरहँदा मैले तपार्इं नियमन भन्नुभयो म चाहीँ अनुशासनमा बस्ने भन्छु । कसैलाई पनि कस्ने होइन हामी सबै अनुशासनमा बस्ने कसरी भन्ने हिसावमा म अहिले काम गरिरहेको छु । सबै संस्थाहरु अनुशासनमा कसरी बस्छन् ? अनुशासन भनेको के हो भने हामीले जे भन्छौं त्यही गर्छौं । त्यो भन्नुको तात्पर्य कानूनमा जे प्रवन्ध गरिएको छ । त्यसकै अधिनमा बस्नुप¥यो । त्यसको लागि प्राधिकरणले काम गरिरहेको छ । हामीले चार ओटा कुरालाई जोड दिएका छौं । एउटा, रजिष्टे«सन रेगुलेसन भन्छ, संस्था रजिष्टार गर्ने । संस्थाका सबै जानकारीहरु नियमन प्राधिकरणमा आउने गरेर पुनः रजिष्टे«सनको काम गर्दैछौं । सरकारले बनाएको नियम कानून भित्र नरहन पाइँदैन । अर्को प्रतिवेदन प्रणाली हुन्छ । प्रतिवेदन प्रणालीमा संस्थाका डाटाहरुलाई माथिल्लो निकायमा फरवार्ड गर्ने र अडिट गर्नेगरी दुई वटा विषय हुन्छन् । हरेक संस्थाको प्रुडेन्सियल अडिट गर्ने भनेका छौं हामीले । त्यसको आधारमा हामीले संस्थाको जोखिमबारे विश्लेषण गर्छौं । रिस्कमा रहेका संस्थाहरुलाई फेरि हामी क्लोज मोनिटरिङमा ल्याउँछौं । त्यो पनि हामी अनसाइड र आफसाइड गरी दुई हिसावले गर्छौं र त्यसलाई सुधारको खाकामा लान्छौं । यदि सुधार गरेर पनि सुधार भएन भने त्यसलाई हामी कानूनअनुसार खारेजीतर्फ लैजान्छौं । त्यस्तो प्रकारको प्रबन्धमा हामी काम गर्न खोजिरहेका छौं । नेपाल राष्ट्र बैंक वित्तीय संस्थाको रेगुलेटरको रुपमा पहिलेबाटै छ । उसका अनुभवहरुलाई पनि हामी हेरिरहेका छौं । यसका बारेमा राष्ट्र बैंकका विगतका अभ्यासहरुबाट अनुभव लिनको लागि पनि हामी राष्ट्र बैंकको कार्यकारी निर्देशकलाई नै  प्राधिकरणको समितिमा राखेका छौं । त्यस्तै हामी अन्तर्राष्ट्रिस्तरमा यस क्षेत्रमा के कस्ता काम भएका छन् भनेर विश्लेषण गरेर पनि यी कुरामा काम गर्न खोजेका छौं । देशभर छरिएर रहेका वित्तिय सहकारी खासगरी ऋण तथा बचत सहकारीहरुलाई म्यानुअल रुपमा हेर्न सक्दैनौं । त्यसकारण हामीले प्रणाली विकास गर्नुपर्छ भनेर सफ्टवेयरको बारेमा पनि हामीले सोच बनाएका छौं । सबै सूचनाहरु सफ्टवेयर प्रणालीबाट आओस् भने हामीले त्यो पनि तयारी गरेर अगाडि आएका छौं । यी सबै कुरामा काम गर्न सकियो भने हामी सबै अनुशासित हुने वातावरण बन्छ । सहकारीको क्षेत्रमा हामीले आजको दिनमा जे जति समस्याहरु भोगिरहेका छौं भोलिको दिन ति समस्याहरु आउँदैनन् । अहिले हामी सहकारी मर्जको कुराहरु पनि उठाइरहेका छौं । अब एउटै कार्यक्षेत्रमा धेरै सहकारीहरु छन् भने मर्ज गर्नुपर्छ र सहकारीको संख्या सिमित राख्नुपर्छ । हामीभन्दा विकसित देशहरुले सिमित संख्यामा सहकारीहरु राख्छौं । सहकरीहरु मर्ज र एकीकरण गर्ने तयारमा हामी छौं । सहकारीहरुलाई मर्ज हुनको लागि वातारण बनाउँदै उत्प्रेरणा दिने काम सरकारले गर्छ । अब हामी वित्तीय क्षेत्र खास गरि सहकारी क्षेत्रमा कर्मचारीका सम्बन्धमा पनि काम गर्नुपर्ने भएको छ । कस्तो योग्यता भएको मान्छे म्यानेजर हुन पाउने र सहकारी सञ्चालकलाई न्युनतम रुपमा कति ज्ञान हुनुपर्ने भन्ने विषयमा काम गर्छौं । तर शैक्षिक योग्यता छैन भनेर आत्तिनु हुँदैन उसलाई हामी एक महिनाको ओरेन्टेसन दिन्छौं । अन्र्तराष्ट्रिय अभ्यासअनुसार सम्पत्ति मूल्याङ्कन गर्न र कति क्यापिटल राख्ने भन्ने विषयमा अब हामी सिकाउँछौं । उहाँहरुले आफू दर्ता भएको निकाय, सम्बन्धित पालिका, नियमन प्राधिकरण र सहकारी विभागलाई रिपोर्टिङ गर्ने कुरालाई हामी अब कडाईका साथ हेर्छौं र कानूनले तोकेको जिम्मेवारी पूरा नगर्ने संस्थालाई हामी निगरानीमा राख्छौं । हामी गल्ती सुधार्ने मौका पनि दिन्छौं तर केही विकल्प लागेन भने त कारबाही गर्नैप¥यो ।

प्रश्नः घरजग्गा कारोबार पछिल्ला वर्षहरुमा अपेक्षित रुपमा नबढेको गुनासोहरु आइरहेका छन्, यस विषयलाई बजेटले कसरी सम्बोधन गर्छ ?
जवाफः तपाईले उठाएको घरजग्गा कारोवारको विषय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्षेत्रको विषय होइन । हामी भूमिको काम गर्छौं, घरजग्गाको गर्दैनौं । घरजग्गाको कारोबार गर्ने अरु मन्त्रालय र अरु निकायहरु छन् तर तपाईले भनेजस्तै कित्ताकाटमा आएको समस्या खोलाउने कुरा, छुट जग्गाहरुलाई व्यवस्थित गर्नेकुरा, सरकारी जग्गाहरुलाई नियमन गर्ने कुराहरु हाम्रो कार्यक्षेत्रमा पर्छन् । घर बनाउनको लागि जग्गा उपलब्ध गराउने कुरा र हदबन्दी सम्बन्धी कुराहरु हामीले खोलिदिने हो त्यसका अरु प्यारामिटरहरु शहरी विकास मन्त्रालले गर्ने गरेको छ । यी दुवै मन्त्रालयहरुले यो विषयमा राम्रो समझदारीका साथ अगाडि जानुपर्छ । व्यवसाय कुन रुपमा लैजाने भन्ने सरकारको धारणा होला । तपाईले भनेको हदबन्दीसम्बन्धी कुरामा हामीले स्वीकृत आदेशअनुसार गरेकै छौं । त्यो आदेशभित्रको जग्गा व्यवसायीहरुले पाउनुहुन्छ । मूल्याङ्कनको आधार पुरा भएकाहरुलाई हामीले जग्गा उपलब्ध गराएकै छौं । आधार पूरा नगरेकाहरुलाई त गर्न सकिँदैन । घर जग्गा कारोबारमा करसम्बन्धी कुराहरु समेत अर्थ मन्त्रालयले हेर्ने गर्दछ । तपाईलाई स्पष्ट पार्न चाहन्छु, यो मन्त्रालयले गर्ने भनेको भूमिको उपलब्धताको सिमासम्म मात्र हो । यो कुरा हामी गर्छौं गरिरहेका छौं । त्यसमा अहिलेसम्म समस्या छ जस्तो मलाई लाग्दैन ।
प्रश्नः बजेट कार्यान्वयनमा सधैँ समस्या देखिन्छ, अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था कसरी सुधार्न सकिएला ? 
जवाफः खासगरी कार्यक्रमहरु महत्वकांक्षी हुनु हुँदैन । कार्यक्रमलाई चाहिने कर्मचारी र वित्तिय स्रोतको व्यवस्थापन भएन भने त तर्जुमाको बेलामा नै फेल हुन्छ । मलाई प्राप्त नै नहुने बजेटमा मैले कल्पना गरेर योजना राखे भने त त्यो प्रथम दृष्टिमै फेल हुन्छ । त्यसकारण गर्न सकिने कामहरु मात्रै राखौं भन्ने मेरो माग हो । हामीले उपलब्ध बजेटको सीमाभित्र बस्नुपर्छ । बजेट बनाउने विषयमा कल्पनामा होइन वास्तविकतामा जानुपर्छ । यसमा हामी सचेत छौं । हामीसँग उपलब्ध बजेटबाट कति गर्न सकिन्छ भन्ने विश्लेषण गरेर गर्न सक्ने योजनालाई मात्रै प्राथमिकतामा दिएका छौं । हामीले नापी कार्यालयतिर लाइडर भन्ने प्रविधिलाई निरन्तर गरेका छौं । अरु हाम्रो बहुवर्षिय कार्यक्रमहरु त्यस्तो खासै छैनन् । प्रणालीगत सुधार र सेवा प्रवाह सुधारलाई हामीले प्राथमिकताका साथ उठाएका छौं । यो वर्ष उठाएका अर्को दुईवटा विषय । हामीहरु नै घरजग्गा बाँड्ने, हाम्रो आफ्नै अफिसहरु चाहीँ भाडाको जग्गा वा भवनमा बसेको भएर पाँच वर्षीय योजना बनाउनुस् भनेर मातहतका विभागलाई भनेको छु ।  उनीहरुले नयाँ प्लान बनाउनेछन् । अर्को भूमि बैंक । अगामी आर्थिक वर्षदेखि भूमि बैंक कार्यान्वयनमा ल्याउँछौं भनेर हामी अगाडि बढेका छौं । अहिले जोसँग भूमि छ, उसले काम नगर्ने र भूमी नहुनेले काम गर्न चाहने समस्या भएको कारण यो भूमि बैंक अति आवश्यक छ । यसका लागि मन्त्रालय छलफलमा जुटेको छ ।

प्रश्नः अन्त्यमा, अगामी आर्थिक वर्षको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कति बजेटको सिलिङ पठाइएको छ ? 
जवाफः बजेटको सिलिङ यो मन्त्रालयको लगभग ७ अर्ब बराबरको छ । हामीले केही प्रोजेक्ट राख्ने हो भने त्यो सिलिङले सम्भव छैन । त्यसका सबै मन्त्रालयबाट आएका आयोजनाहरुको सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्नुपर्नेछ । हामी सिलिङ बाहिर पनि केही विषयमा कुराहरु उठाएका छौं । बजेटको सिलिङमा राख्नुपर्ने कुराहरु राखिसकेका छौं । त्यसबाहेक भूमि बैंक र सहकारी पीडितहरुलाई राहत दिने विषयमा पनि छलफल भइरहेको छ । त्यसलाई समेत बजेटले सम्बोधन गर्नेछ ।


प्रकाशित मिति: २ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?