
काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार दु्रत शहरीकरण, प्राकृतिक वातावरणीय ह्रास र सामाजिक–आर्थिक असमानताको बहुआयामिक चुनौतीहरु चिर्न प्रतिवद्ध रहेको बताएका छ्न ।
बुधवार ललितपुरमा आयोजित शहरी शासन र विकाससम्बन्धी क्षेत्रीय गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सिंहले सरकार जीवन र जीविकोपार्जनमा केन्द्रित भएर भई समावेशी शहरी शासनको संरचना निर्माण गर्न प्रतिवद्ध रहेको बताए । उनले नेपालले मात्र नभई एसियाली मुलुकहरुले दु्रत शहरीकरण, प्राकृतिक वातावरणीय ह्रास र सामाजिक–आर्थिक असमानताको बहुआयामिक चुनौतिहरु सामना गरिरहेको समेत बताए । उनले स्तरीय अर्थतन्त्रमा पहुँच, सुरक्षित आवास, स्वच्छ वातावरण र सामाजिक गतिशीलताको लागि अवसर सिर्जना गर्ने खालको शहर निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले शहरीकरण, जनसांख्यिकीय परिवर्तन, जलवायु परिवर्तन र विभिन्न कालखण्डमा आएका प्राकृतिक प्रकोपहरुको कारण प्राकृतिक सम्पदाहरु विनास हुँदै गइरहेको उल्लेख गर्दै यसको लागि एकीकृत शहरी विकास कार्यक्रम जरुरी रहेको बताए ।
उनले भने, ‘नेपाल, एसियाका धेरै देशहरू जस्तै, द्रुत शहरीकरण, प्राकृतिक वातावरणीय ह्रास, र सामाजिक–आर्थिक असमानताको बहु–आयामिक चुनौतीहरूको सामना गरिरहेको छ । यद्यपि, हाम्रो सरकार जीवन र जीविकोपार्जनमा केन्द्रित भएर यी चुनौतीहरूलाई सम्बोधन गर्न प्रतिवद्ध छ । हाम्रो शहरी शासन एजेण्डाको मुल विचार भनेको शहरहरू, स्तरीय अर्थतन्त्रहरूमा पहुँच, सुरक्षित आवास, स्वच्छ वातावरण, र आर्थिक र सामाजिक गतिशीलताको लागि अवसरहरू सहित, मानिसहरू फस्टाउन सक्ने ठाउँहरू हुनुपर्छ भन्ने हो । यो दृष्टिकोण केवल पूर्वाधारभन्दा पनि लचिलो र समावेशी समाज निर्माण गर्नेगरी हुनुपर्दछ । समावेशी शहरी शासनप्रतिको हाम्रो प्रतिबद्धताले हाम्रा शहरहरूको योजना र विकासमा समुदायको संलग्नता र आदिवासी ज्ञानको एकीकरणको महत्व दिन सहयोग पुग्छ ।’
उनले सम्मेलनले नेपालमा मात्र नभई एशिया क्षेत्रको शहरीकरणलाई लचिलो र समावेशी बनाउने आधार तयार गर्ने मन्त्री सिंहको विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १३ चैत्र २०८१, बुधबार