
काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमूना राष्ट्र बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
विश्व खानेपानी दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले खानेपानी व्यवस्थापनमा रणनीतिक योजनामार्फत विज्ञसँग छलफल गरी बजेटमा प्रभावकारी नीति तथा कार्यक्रमको व्यवस्था गरिने बताएका छन् । उनले नेपाल जलस्रोतमा धनी भएपनि उचित व्यवस्थापनमा कमजोर र चुनौतिपूर्ण रहेको बताए । उनले खानेपानीमा फड्को मार्नेगरी विकास साझेदार र विभिन्न दातृनिकायहरुसँग सहकार्य गर्ने बताए । सुरक्षित खानेपानी तथा सरसफाईलाई सुनिश्ति तथा दीगो बनाउने रणनीतिअन्तर्गत निजी क्षेत्र तथा गैससरकारी संस्थाहरुसँग सहकार्यको तयारी भइ रहेको उनको भनाइ छ ।
उनले भने, ‘नेपाल जलस्रोतको धनी भएपनि व्यवस्थापन, वितरण तथा सेवा गुणस्तर सुधार गर्न अझ धेरै चुनौति रहेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई वैज्ञानिक र नवप्रवर्तन युग समाधानहरुसँग एकीकृत गर्दै कार्यान्वयन गरिँदैछ । जलस्रोतको संरक्षण र उचित उपयोग प्रविधि हस्तान्तरण तथा खानेपानी तथा सरसफाईमा समान पहुँच सुनिश्चित गर्न सरकारले प्रभाकारी नीति कार्यक्रमलाई प्राथमिकता दिनेछ । सुरक्षित खानेपानी र सरसफाईलाई दीगो बनाउन निजी क्षेत्र, गैरसरकारी संस्था तथा विकास साझेदारहरुसँग सहकारी गर्दै लैजाने सरकारको रणनीति छ । यो भन्दा अघि पनि हामीले विकास साझेदार र विभिन्न दातृनिकाय जुन खानेपानी क्षेत्रमा काम गरी राख्नुभएको छ । उहाँहरुलाई बोलाएर छलफल पनि गरी सकेका छौँ । निकट भविष्यमा पुनः छलफल गरेर हामी जुन बजेट बनाइरहेका छौँ त्यो बजेटमा रणनीति तह सबैको सहकार्यमा सबैको सल्लाहबमोजिम कसरी खानेपानीमा फड्को मार्ने र नागरिकलाई स्वस्थ तथा शुद्ध खानेपानी कसरी दिने ? भन्नेमा विज्ञ विद्धानसँग विचार विमर्श गरेर बजेट बनाएर अगाडि बढ्छौँ । नेपाललाई पानी व्यवस्थाको सफल नमुना राष्ट्रको बनाउन सरकार प्रतिवद्ध छ ।’
मन्त्री यादवले नेपालमा खानेपानीलाई मानव अधिकारको रुपमा सुनिश्चित गर्न संवैधानिक अधिकारको रुपमा व्यवस्था गरिएको बताउदै संविधानमा भएको व्यवस्थालाई व्यावहारिक कार्यान्वयनमा थप सुधारको आवश्यक भएको उनको भनाइ छ ।
प्रकाशित मिति: ९ चैत्र २०८१, शनिबार