Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

ढिके नुनबाट टाढिँदै बझाङी


बझाङ। जिल्लाको साइपाल गाउँपालिका-४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । सात दशक उमेर काटेका उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) को खुब सम्झना आउँछ ।

त्यस्तै, च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ एक दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् । ‘साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे’, विगत सम्झिँदै उनले भने, ‘ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह) मा नुन ल्याउँथ्यौँ । बेच्थ्यौँ।”

उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । ‘नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पुर्‍याउँथ्यौँ’, उनी भन्छन्, ‘ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो।’

तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो। ‘बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन। कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटकमा आयोडिनयुक्त धुलो नुन आउन थाल्यो’, उनले भने ।

त्यसैगरी, बस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उनले बताए । ‘हामी ढिके नुन खाएर हुर्कियो। केही भएन’, उनले भने, ‘आजकल ढिके नुन खाँदा बिरामी हुन्छ भन्छन् । त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन् ।’

त्यस्तै, खप्तडछान्ना गाउँपालिका-५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ । ‘गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ । अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै’, उनले भने ।

उक्त गाउँमा २०६४/६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे । एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उनले सुनाए । ‘सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लिने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भनेको थियो। त्यो अहिले पनि सम्झना छ’, उनले भने ।

वर्षौँदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उनले बताए । ‘शुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ। आजभोलि त घर घरै साल्ट्र ट्रेडिङको नुन पुगिसक्यो’, उनले भने ।

जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ। सबैभन्दा टाढा साइपालको धुली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र टे«डिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिए । ‘अहिले सबै ठाउँमा पर्याप्त नुन छ । साइपालको धुलीमा हिउँ पर्न सक्छ भनेर एक सय क्विन्टल थप्न लागेका छौँ’, उनले भने, ‘धुलीमा हिमपात भएपछि ढुवानी गर्न सकिँदैन भनेर आज साइपालमा आएका छौँ। अब एक-दुई दिनमै नुन धुलीमा पठाउने तयारी छ ।’

त्यस्तै, अन्य ठाउँमा अहिलेलाई नुन पर्याप्त भएको उनले जानकारी दिए । उनका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ। यो वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उनले बताए । डिपोबाट हरेक दिन बिक्री भइरहेको नुन गत महिनादेखि भने आइतबार मात्रै बेच्ने गरेको भाटले बताए ।

‘पहिले नियमित बिक्री गर्थ्यौँ। अहिले अपुग हुने देखेपछि एकै दिनमा समेत क्विन्टलको हाराहारीमा बिक्री हुन थाल्यो । त्यसैले साप्ताहिक रूपमा बेच्न शुरु गरेका हौँ’, उनले भने ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?