Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

रामजानकी विवाहकै दिन जोडी बाँधिने बढ्दै


महोत्तरी। यसपालिको विवाहपञ्चमीकै दिन २१ नयाँ जोडीले विवाह गरेर नयाँ जीवन सुरु गरेका छन् । मधेसको प्राचीन मिथिला क्षेत्रमा विवाहपञ्चमीका दिन विवाह फलदायी नहुने परम्परागत मान्यता तोड्दै यसै दिन विवाह गर्ने जोडी बढ्दै गएका हुन् ।

अघि त्रेतायुगमा मिथिलापुत्री सीताले वैवाहिक जीवनमा थुप्रै हण्डर व्यहोर्नु परेको, अग्निपरीक्षा दिनुपरेको र पछि जीवनबाट आजित भएर पृथ्वीमा लीन हुनुपरेको रामायण कथाले मिथिलामा रामसीताको विवाह भएको दिन जोडी बाँधिनुलाई त्यति राम्रो नमान्ने गरिन्थ्यो,तर पछिल्ला वर्षमा यसै दिन जनकपुरधाममा विवाह गर्ने जोडी बढ्दै गएका हुन् । यसपालि विवाहपञ्चमीका दिन विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा २१ जोडीले विवाह गरेका थिए । यी अधिकांश जोडी मैथिल समुदायका रहेका विवाह समारोह आयोजक परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साह बताउछन् ।

पछिल्ला केही वर्षयता जानकी मन्दिर परिसरमा विवाहपञ्चमीका दिन विवाह गर्ने मैथिल युवायुवती बढ्नुमा सञ्चार प्रविधिको प्रसार मुख्य कारण रहेको पत्रकार सुजितकुमार झाको ठम्याइ छ । उनले भने, “अघिअघि पनि विवाहपञ्चमीका दिन जनकपुरमा जोडी बाँधिने त हुन्थे तर सबैजसो पर्वते (पहाडी) मूलका हुन्थे तर पछिल्ला केही वर्षयता विभिन्न संस्थाले नै विवाह समारोह आयोजना गर्न थालेपछि भने विवाह गर्ने मैथिल युवायुवती बढ्दै गएका छन् ।”

यद्यपि, सीता मिथिलापुत्री भएकी र उनले जीवनमा थुप्रै परीक्षा दिनुपरेको रामायण कथाले मैथिल भने यस दिन छोरीको विवाह गर्न अनिच्छुक देखिने गरेका झा विगत सम्झन्छन् । सामान्यतया दुलहा पक्षभन्दा दुलहीपक्ष नै विवाहपञ्चमीका दिन छोरीको विवाहमा अनिच्छुक देखिने मैथिल सोच देखिन्थ्यो । अब मिथिलाका युवायुवतीको शिक्षा, सञ्चार र कामका लागि विभिन्न देशसँगको पहुँच बढेसँगै पुरानो मान्यता खण्डित हुँदै गएर यस दिन विवाह गर्ने बढेका जानकारहरुको अड्कल छ ।

त्यस्तै, हिन्दू वैदिक परम्परामा आराध्य देव श्रीराम र देवी सीताको विवाह भएको दिन खास सांस्कृतिक पर्वका रुपमा मनाइने मैथिल परम्परा छ । यसपालि परिषद्ले आयोजना गरेको समारोहमै २१ जोडीले विवाह गरे । जानकी मन्दिर र रामजानकी विवाह मण्डपमा यसबाहेक विवाह गर्ने जोडी पनि बाक्लै देखिएका मन्दिरका पुजारीहरुको भनाइ छ । यो सामूहिक विवाह परम्पराले विवाह महोत्सवको प्रचारसँगै फजुल खर्च कटौती गराएको जानकी मन्दिरका महन्थका मुख्य उत्तराधिकारी शिष्य रामरोशन दास वैष्णव बताउछन् ।

यसपालि परिषद्ले आयोजना गरेको सामूहिक विवाह समारोहमा मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही र मित्रराष्ट्र भारतका केही जोडीसहित २१ जोडी थिए । परिषद्ले सामूहिक विवाहमा सरिक जोडीलाई नयाँ वस्त्र, दुलहीका लागि सिन्दूर, पोते र परिवारजनको खानपान व्यवस्था गरेको थियो ।

उक्त विवाहविधि रामजानकी विवाह मण्डपमा र खानपान जनकपुरस्थित कलवार धर्मशालामा आयोजना गरिएको थियो । यसरी बिना दाइजो बरबधुको रोजाइमा सम्पन्न विवाहले मधेसमा बढ्दो फजुल खर्च नियन्त्रण हुने पनि धेरैको भनाइ रहेको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?