Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

पर्सामा महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटियो


वीरगञ्ज,पर्सा। नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै गएपछि संस्थानले पहिलो चरणमा रु ५० हजारभन्दा बढी बक्यौता राख्ने पाँच सय ४२ ग्राहकको नाम कालोसूचीमा राखेर धाराको लाइन काट्न सुरु गरेको हो । त्यस्तै, महसुल बुझाउन पटक–पटक पत्राचार गरे पनि ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि धाराको लाइन काट्न सुरु गरिएको नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिएका छन् । पछिल्लो एक सातादेखि धाराको लाइन काट्न सुरु गरेयता ११ ग्राहकको धाराको लाइन काटिएको प्रमुख महर्जनले बताए । उक्त संस्थानले ग्राहकबाट करिब रु १२ करोड २६ लाख बक्यौता उठाउन बाँकी रहेको जनाएको छ भने संस्थानले एउटै ग्राहकबाट रु दुई लाखभन्दा बढीसम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गरी धाराको लाइन काटेरै भए पनि बक्यौता असुल गर्ने योजना बनाएको प्रमुख महर्जनले जानकारी दिए । त्यस्तै, खानेपानी उपभोग गरेबापतको महसुल नबुझाउनेमा पूर्वमन्त्री, पूर्वन्यायाधीश, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेता, कर्मचारीलगायत रहेका छन् । उक्त खानेपानीको महसुल नतिर्नेको सूचीमा रहेका व्यक्तिको नाम स्थानीय तहका वडा–वडामा टाँस गरिएको र पटक–पटक स्थानीय पत्रिकामा समेत सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाइ रहेको छ ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानका आठ हजार ग्राहक रहेकामा सात हजारले महसुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको महर्जनको भनाइ छ । उनले ताकेता गर्दासमेत रकम उठाउन नसक्ने भएपछि धारा काटेर रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताए । विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर पानी महसुलको रकम नतिर्ने व्यक्तिको नाम कर्जा सूचना केन्द्रमा कालोसूचीमा राखी बैंकिङ कारोबार रोक्ने गरी कानुन परिमार्जनको तयारीमा मन्त्रालय रहेको प्रमुख महर्जनले बताएका छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?