Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु


२८ ,असोज ,भक्तपुर । जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ ।

घटस्थापनादेखि दशैभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने उहाँले बताउनुभयो । यो अवधिमा टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीकोसमेत तलेजु ल्याएर पूजा गरिन्छ ।

कुमारीलाई आजै दरबारस्क्वायरस्थित चतुर्ब्रह्म महाविहारमा लगेर पूजा गरी पुनःकुमारी घरमा लगेर विराजमान गराएपछि आजदेखि दशमीसम्म कुमारीको पूजा गर्न सर्वसाधारण आउने तलेजुका मूल नाइके जोशीले बताए ।

दशमीको दिन दिन कुमारीको हातबाट तलेजुका पुजारी, मूल नाइके लगायतलाई साइतको टीका लगाइदिएपछि सर्वसाधारणका लागि कुमारीले टीका लगाइदिने परम्परा छ । सोही दिन कुमारीले कुमारी घरबाट आफ्नै जन्मघर जाने इच्छा प्रकट गरेपछि घर लैजाने परम्परा रहेको छ ।

त्यसैगरी नेपालकै मूल तलेजुका रुपमा लिइने भक्तपुर तलेजुमा बैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दसैँघरमा पाञ्चायन निर्णायक समितिले निर्धारण गरेको शुभसाइतमा जमरा राखिन्छ ।

राजा हरिसिंहदेव र देवलदेवीले नेपाल सम्वत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा सुरु भएको तलेजुका मूल नाइके जोशीले बताए ।

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा रहेको छ भने आजै भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा रहेको छ ।

तलेजुमा सप्तमीदेखि दशमीसम्म तलेजु जात्रा मनाइन्छ भने सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँसको बलि दिइ कालरात्रि गरी जात्रा मनाइने तलेजुका मूल नाइके जोशीले बताए ।

तलेजुमा मूल पुरोहितले मांशाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिइने परम्परा रहेको छ । सप्तमीको दिन तलेजुलाई देवगृहबाट स्थानान्तरण गरी घरमा विराजमान गराई जात्रा मनाउने परम्परा छ ।


प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?