Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘अफ्रिकन स्वाइन फिवर’ले बङ्गुर मरे


‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो । यस रोगका कारण जिल्लामा दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । ती मध्ये वयस्क एक हजार नौ सय १६ वटा र नौ सय ५७ पाठापाठी रहेको उहाँले जानकारी दिनुभयो । रु छ करोड २२ लाख ६५ हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ । यो रोग गत साउन महिनाबाट जिल्लामा देखिएको हो ।

अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो । रोग सङ्क्रमित सुँगुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको ¥याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदि प्रयोग गर्दा सर्नसक्ने सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । यो रोग लागेका बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुँगुर बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, बच्चा तुहिनेजस्ता लक्षण देखा पर्ने केन्द्रले जनाएको छ ।

यस रोगबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवतजावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपाय अपनाउनुपर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधै फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने गर्नुपर्दछ । बङ्गुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फार्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्नेजस्ता कार्य गर्दा क्षति कम हुने सूचना अधिकारी न्यौपानेको भनाइ छ ।


प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?